Monday, January 9, 2017

चौतारीमा रोकिएर


हावा उसरी नै चलिरहेछ
उसरी नै खसेको छ पिपलको पात भुईँमा
फेरि पनि 
आधि खाएर बरको दाना
छेवैमा खसाएको छ लोखर्केले
ओहोर दोहोर छ बटुवाहरूको
म जस्तै दु:खको भारी विसाउनेहरू
सितल तापिरहेछन् यही छहारी मुनि ।
सदियौंदेखि सँगै देख्छु यी बरपिपल
यसपाल पनि
अलिकति लम्केछ बरको त्यो हाँगा
अलिकति तन्केछ पिपलको यो हाँगा
 हेर त,
उमेर बढेसँगै हरेक साल
झन् झन् बढिरहेको छ यिनीहरूको अंकमाल !
अनि को हो त्यो भन्ने
कि प्रेम बैंसको रौनकता मात्र हो ?
को हो त्यो गीत गाउने
कि प्रेम जवानीको आवेग मात्र हो ?
तर,
प्रवाह छैन तिमीलाई
यी कुनै कुराको !
आफै चुट्टिने गरी तन्किए पनि म
आफैलाई उछिन्ने गरी दगुरे पनि म
जति झुके पनि म आफै भाँचिने गरी
जति उफ्रिए पनि आफैलाई नाघ्ने गरी
तिमी त कहिल्यै नभेटिने गरी
टाढिएकी मान्छे !
एउटा अनन्त दुरी छोडेर
 अन्तरिक्ष र धर्ती झै ।
बर्षौदेखि यही बाटो भएर
तिमीले मेरा पसिना पुछेको उकालीमा
मायाले मलाई
 तिमीले हम्केको देउरालीमा
यो हामी हिंडेको बाटोले विर्सियोस्
यो हामी उभिएको माटोले भुलोस्
यो चौतारोले याद नगरोस्
हो प्रिय,
त्यो तिम्रो मुस्कानलाई पत्ता नहोस्
मैले तिम्रो चुल्ठोमा सिउरिदिएको फूल !
यसरी म विथोलिएको
तिम्रा आँसुलाई थाहा नहोस्
थाहा नहोस् प्रिय
म अलपत्र रोकिएको यसरी
 तिम्रा पाइलालाई थाहा नहोस् ।
समयलाई चुपचाप वित्न देऊ
नरोक तिम्रा गतिहरू,यथावत छोडिदेऊ
विहान दिन हुन्छ नै,
दिन पनि रात हुन्छ
हुन देऊ ।
बरू मेरो बाँकि जिन्दगी म
यही अँध्यारो कुनोबाट जीवनको
तारा गनेर बिताऊँला !
र अन्तिममा-
यो त झन् पटक्कै थाहा नहोस् तिमीलाई
कि म आज यो चौतारीमा रोकिएर
फेरि अर्को पटक उसरी नै भूल गरिरहेछु
तिमीलाई संझिएर ।

No comments:

Post a Comment