समयसँगै
तिम्रो प्रेम घृणामा बदलियो
तिम्रो घृणा प्रेममा बदलियो
अरूहरूले भने तिमी बदलियौ
तर तिमी त
सृष्टिको सुरूवातदेखि नै
निरन्तर उस्तै छौ !
उस्तै छ तिम्रो हाँसो
उस्तै छ तिम्रो आँसु
तिम्रो माया, प्रेम
तिम्रो ईर्ष्या, घृणा, रिस, आवेग
सबै एकनास उस्तै नै छन् ।
बरू,
बदलिइरहन्छ यो मौसम, यो समय
र यी आयु बोकेर हिंडेका अल्पायुहरू त
झन् छिनछिनमा बदलिन्छन् ।
पाठशाला बदलिन्छ, पुस्तक बदलिन्छ
हिंडेर जाने स्कुलको बाटो बदलिन्छ
गरेर खाने जीवनको माटो बदलिन्छ
अरूहरू भन्छन् तिमी बदलिन्छौ
तर तिमी त
सृष्टिको सुरूवातदेखि नै
निरन्तर उस्तै छौ !
मेरी पृय,
यही भएर त म तिमीलाई निरन्तर प्रेम गरिरहन्छु
मेरो आफ्नै पागलपनमा रमाइरहन्छु, हराइरहन्छु
युग- प्रतियुग
तिमीले आफूलाई यथावत् राखिरहनु
यसरी नै
जसरी राखेकि छौ अाजसम्म ।