Tuesday, September 13, 2016

जिन्दगीसँग


समयसँगै
तिम्रो प्रेम घृणामा बदलियो
तिम्रो घृणा प्रेममा बदलियो
अरूहरूले भने तिमी बदलियौ
तर तिमी त
सृष्टिको सुरूवातदेखि नै
निरन्तर उस्तै छौ !

उस्तै छ तिम्रो हाँसो
उस्तै छ तिम्रो आँसु
तिम्रो माया, प्रेम
तिम्रो ईर्ष्या, घृणा, रिस, आवेग
सबै एकनास उस्तै नै छन् ।
बरू,
बदलिइरहन्छ यो मौसम, यो समय
र यी आयु बोकेर हिंडेका अल्पायुहरू त
झन् छिनछिनमा बदलिन्छन् ।

पाठशाला बदलिन्छ, पुस्तक बदलिन्छ
हिंडेर जाने स्कुलको बाटो बदलिन्छ
गरेर खाने जीवनको माटो बदलिन्छ
अरूहरू भन्छन् तिमी बदलिन्छौ
तर तिमी त
सृष्टिको सुरूवातदेखि नै
निरन्तर उस्तै छौ !

मेरी पृय,
यही भएर त म तिमीलाई निरन्तर प्रेम गरिरहन्छु
मेरो आफ्नै पागलपनमा रमाइरहन्छु, हराइरहन्छु
युग- प्रतियुग
तिमीले आफूलाई यथावत् राखिरहनु
यसरी नै
जसरी राखेकि छौ अाजसम्म ।

मालिकको विरूद्दमा


कहिले कहीं तिमीले सोच्दै नसोचेको पनि लेख्छु
कहिले कहीं तिमीले सोचेको पनि लेख्दिन
अचेल मलाई
तिम्रो अनुहार हेरेर
कलमको बेईज्यत गर्नु, मर्नु जस्तो लाग्छ |

तिमी जुनसुकै मोडमा उभिएर
मलाई गलत ईसारा गर्ने मान्छे
म तिम्रो निम्ति भनेर
आफू स्वयम् मर्ने मान्छे
त्यही भएर त अब लेख्दिन म
तिम्रो मनपरी मेरो कवितामा
काटेर धागो यो उडाइदिन्छु
चङ्गा जस्तो मन हावामा ।

आफ्नै मुटु भेटी चढाए पनि
आफ्नै शिर बलि चढाए पनि
कहिले रमाउन नजान्ने खुसीले
तिमी मलाई शालिक जस्तो लाग्छ मालिक !

मनमनै सोच्दा हौ -
हावा तिम्रो बिरुद्दमा छ अचेल
पानी तिम्रो बिरुद्दमा छ अचेल
धर्तीका सबै बस्तुहरू फरक गतिमा छन्
अकास बदलिएको छ
तिमीलाई थाहा हुन छोडेको छ
कहिले फुल्छन् र झर्छन् फूलहरू !
बिल्कूल कहालिनु जस्तो मात्र
मानौ, तिम्रो कानमा बजिरहेको छ
 एकनासले, एकतमासाले, निरन्तर भएर
मृत्युको धून !

समस्याहरूले मलाई



समस्याहरुले मलाई
आफ्नो बनाउँदै लागिरहेका छन्
अनेक बहानामा तिनले
पुरानो जमानाकी बधूलाई जस्तो
ब्यबहार गर्न खोजिरहेका छन्
राति तीन बजे उठाएर तीनले
जिन्दगीको जाँतो घुमाउन भनिरहेका छन् |

समस्याहरूले मलाई
भारी माथि भारी थपिदिएका छन्
थकान माथि थकान थपिदिएका छन्
भोक माथि भोक
रोग माथि रोग
शोक माथि शोक
एक पछि अर्को अनेक थोक
एकमुस्ट उपहार दिएका छन् ।
विद्रोह नगर्नु
सहनु भनेको छ विवशताले
यहि भएर शायद
मलाई उछिनेर
विद्रोह उठेको छ मेरो मनमा ।

समस्याहरूले
दु:खलाई गीतमा गाउन दिएका छैनन्
न त पीडालाई आँसुमा रून दिएका छन्
चुपचाप बस् भन्छन् शब्दहरूलाई
जुनसुकै कारण होस्
मौन बस् भन्छन् आवाजहरूलाई
यहि भएर शायद
मन निचोरिएर पड्किन खोज्दैछ
डाइनामाइट झैं ।

समस्याहरूले मलाई
नसुत् भन्छन्
नरोकिइ, दौडि भन्छन्
कहिले उराँठ लाग्दो उकालो दिन्छन्
कहिले विरक्त लाग्दो ओरालो दिन्छन्
एउटा घुम्ति नपुगी अर्को घुम्ति दिन्छन्
एउटा बाटो नरोजी अर्को दोबाटो दिन्छन्
एउटा जंगल नछिचोली अर्को जंगलमा लान्छन् ।
समस्याहरूले मलाई
कुदाउने भएर
बीचबाटामै रोकेका छन्
समस्याहरू समस्या भएर
मेरो बाटो छेकेका छन् ।

पेशेवर कवि


तिमी रुँदा
म वियोगको कविता लेखिरहेको हुन्छु
तिमी हाँस्दा
म संयोगको कविता लेखिरहेको हुन्छु
तिमीलाई म निरन्तर प्रेम गरिरहन्छु यसरी नै
मानौ कि,
म कुनै पेशेवर कवि हुँ |

तिम्रा खुसीहरू पिएर नै हो
म सबैभन्दा धेर मात्तिने
तिम्रा दु:खहरू देखेर नै हो
म सबैभन्दा धेर आँत्तिने
तिम्रो हरेक बदलिंदो अनुहारले बदल्छ मलाई
म जो ठान्छु त्यो लेखिरहन्छु यसरी नै
मानौ कि,
म कुनै पेशेवर कवि हूँ ।

Monday, September 5, 2016

आँधी उठिसकेको छ

घाऊहरूलाई
दुख्नको निम्ति थाती राखेर
आँसुहरूलाई रूनको निम्ति रोकेर 
मेरो सपनाको आँगनमा
तिमी एकचोटी मुस्कुराऊ प्रिय !


हो,
म देखिरहेछु
मेरो परिकल्पनाको क्षितिज माथि
तिम्रा तृष्णाका प्रतिच्छायाहरू उड्दै गइरहेका
मेरो मनलाई समेत झुन्ड्याएर तिनले
हावामा उडाइरहेका !

तिम्रा आँखाहरूले रातसँग विद्रोह गरेसँगै
मेरो निन्द्राले सपनासँग विद्रोह गर्यो
सपना टुटेपछि मेरो
मैले निन्द्रासँग विद्रोह गरें
म पनि उड़ें प्रिय,
म उड़ें
तिमी जस्तै उडें
यो विपरीत दिशा भएर बगिरहने हावा
मेरो गति चोरीरहने यो समय
कसैको प्रवाह नगरी
केवल उड्न खोजिरहें
मेरो मनदेखि तिम्रो मनसम्म ।
मलाई रोक प्रिय
मलाई छेक
म भित्र आँधी उठिसकेको छ
अकासै उडाउला जस्तो !

गाऊँ फर्किएको कविता

जब तिमीले
एउटा सग्लो कविताको अगाडि उभिएर
कवितामा यो भएन / त्यो भएन भन्यौ 
कविता यस्तो हुनुपर्छ/उस्तो हुनुपर्छ भन्यौ
कविताले-
निशब्द तिमीलाई हेरिरह्यो
चुपचाप तिमीलाई सुनिरह्यो ।


नाक बांगो पारेर उभिएको थियो कविता
निधारमा टुटुल्काहरू बोकेर उभिएको थियो
गालामा आँसुका लेग्राहरू नपुछि आएको थियो
कविता,
भोकै,
फाटेको कट्टु र टिसर्टमा
ठिंग उभिएको थियो
बर्षौ नकाटेको र नकोरेको कपालमा
जिंग्रिंग ठडिएको थियो ।
पढ्दै जाँदा तिमीले कविता
बीचबीचमा कविताले
नाकको सिंगान पुछ्न
तिमीसँग टिस्यु पेपर मागेको थियो
ज्वरोले थलिएको कविताले
तिमीसँग सिटामोल र तातोपानी मागेको थियो
'तिमी त पढेलेखेको मान्छे !'
कवितालाई यस्तो लागेको थियो ।

तर तिमीले
घिनाएर कवितासँग
पुरै नपढिकनै कविता
अनुहार अर्कैतिर मोड्यौ
र विभत्स खित्का छोड्यौ ।

त्यसपछि,
उदास उदास भएर
निरास निरास भएर
पिंठ्युँ फर्काएर तिमीतिर
कविता आफ्नै गाऊँ फर्किएको थियो
कविता आफ्नै घर फर्किएको थियो ।
शहरमा परिचय विहीन कविता
सहरमा आवाजहीन कविता
गाऊँमा गएपछि
चर्को चर्को आवाजमा बोल्ने भएको छ
शहरमा अपमानित कविता
शहरमा अपहेलित कविता
शहरमा उदास र निरास कविता
गाऊँमा गीत गाउन थालेको छ
गाऊँमा गएर कविताले
चेतनाको आगो बालेको छ ।

एक्लै बरालिएर गएछ जून !

रातभर,
जून पर्खेर बसेछ मलाई बार्दलीमा
म रोएर बसेछु कोठाभित्र अँध्यारोमा
सिरकभित्र
एक्लै निस्सासिएर ।
यो कोठाभन्दा
साँघुरो र अँध्यारो पो रहेछ कि मेरो चेतना ?
यो ढोकाभन्दा
बन्द र चुपचाप पो रहेछ कि मेरो सम्वेदना ?
एकचोटी पनि
खालि एकचोटी पनि
हटाउने सुरसम्म आएन झ्यालको पर्दा
उठेर ढोकाको छेऊसम्म लर्खरिंदै
पुग्नेसम्म कहिल्यै सोचिएन
उफ् ! कति दह्रो चुकुल ठोकेछु मैले
आफ्नै मनमा ।
रातभर
आँगनमा एक्लै बरालिएर गएछ जून !
उदास उदास ऊ
रोएर गएछ बगैंचाभरी
चराहरूलाई सिकाएर गएछ
जीवनको गीत ।

कहाँ होला सपनाको फूलबारी ?

म किन हराएँ यसरी ?
कसरी कहाँ हराएँ ?
जीवन खोज्न भनेर जीवनको जंगलमा
कता पुगिरहेछु म ?
के होला उदेश्य यसरी दौडनुको ?
के होला रहस्य यसरी भौतारिनुको ?
कहाँ होला उपलब्धीको शिखर
जहाँ पुग्न कुदिरहेछ यो जिन्दगी !

श्रीमतीको मुस्कान समात्न नसकेको बर्षौ भयो
छोराछोरीको गति पछ्याउन नसकेको उति नै भयो
म कुन जंगलमा आइपुगें ?
कसरी र किन हराएँ यहाँ ?
बाल्कोनीबाट बाले बोलाए होलान्
कति साँझ बेलैमा घर नफर्केकोमा
आमाले उदाश उदाश
दैलोमा चुकुल लगाइन् होला
सुतेर पनि निदाउन नसकेका
अनेकौ रातहरू होलान् आमाका पोल्टामा !

उफ् ! कति व्यस्त यो जिन्दगी !
यो ब्यस्तता उग्राएर कुनै फुर्सदमा
जीवनको स्वाद निकाल्ने क्षण कहाँ होला ?
कहाँ होला खुसीको बगैंचा
जहाँ पुग्न दौडिरहेछ यो मन ?

कतै त्यो,
मैले हेर्न नभ्याएको
आफ्नै श्रीमतीको अनुहारमा त विलाएर गइरहेको छैन ?
कतै त्यो,
मैले सम्हाल्न नभ्याएको
आफ्नै नानीहरूको उपद्रोमा त हराएर गइरहेको छैन ?
बाको दाँतसँगै खसिरहेको पो छ कि ?
आमाको केशसँगै झरिरहेको पो छ कि ?
अलिकति त
छिमेकी दाइसँगै बसाईँ सरेर पो गयो कि ?
अर्थात्,
आफ्नै आँखाको डिलमा चाउरी परेर पो जाँदैछ कि ?
कहाँ होला सपनाको फूलबारी ?
जहाँ पुग्न उडिरहेछ यो मन ?