Tuesday, September 13, 2016

जिन्दगीसँग


समयसँगै
तिम्रो प्रेम घृणामा बदलियो
तिम्रो घृणा प्रेममा बदलियो
अरूहरूले भने तिमी बदलियौ
तर तिमी त
सृष्टिको सुरूवातदेखि नै
निरन्तर उस्तै छौ !

उस्तै छ तिम्रो हाँसो
उस्तै छ तिम्रो आँसु
तिम्रो माया, प्रेम
तिम्रो ईर्ष्या, घृणा, रिस, आवेग
सबै एकनास उस्तै नै छन् ।
बरू,
बदलिइरहन्छ यो मौसम, यो समय
र यी आयु बोकेर हिंडेका अल्पायुहरू त
झन् छिनछिनमा बदलिन्छन् ।

पाठशाला बदलिन्छ, पुस्तक बदलिन्छ
हिंडेर जाने स्कुलको बाटो बदलिन्छ
गरेर खाने जीवनको माटो बदलिन्छ
अरूहरू भन्छन् तिमी बदलिन्छौ
तर तिमी त
सृष्टिको सुरूवातदेखि नै
निरन्तर उस्तै छौ !

मेरी पृय,
यही भएर त म तिमीलाई निरन्तर प्रेम गरिरहन्छु
मेरो आफ्नै पागलपनमा रमाइरहन्छु, हराइरहन्छु
युग- प्रतियुग
तिमीले आफूलाई यथावत् राखिरहनु
यसरी नै
जसरी राखेकि छौ अाजसम्म ।

मालिकको विरूद्दमा


कहिले कहीं तिमीले सोच्दै नसोचेको पनि लेख्छु
कहिले कहीं तिमीले सोचेको पनि लेख्दिन
अचेल मलाई
तिम्रो अनुहार हेरेर
कलमको बेईज्यत गर्नु, मर्नु जस्तो लाग्छ |

तिमी जुनसुकै मोडमा उभिएर
मलाई गलत ईसारा गर्ने मान्छे
म तिम्रो निम्ति भनेर
आफू स्वयम् मर्ने मान्छे
त्यही भएर त अब लेख्दिन म
तिम्रो मनपरी मेरो कवितामा
काटेर धागो यो उडाइदिन्छु
चङ्गा जस्तो मन हावामा ।

आफ्नै मुटु भेटी चढाए पनि
आफ्नै शिर बलि चढाए पनि
कहिले रमाउन नजान्ने खुसीले
तिमी मलाई शालिक जस्तो लाग्छ मालिक !

मनमनै सोच्दा हौ -
हावा तिम्रो बिरुद्दमा छ अचेल
पानी तिम्रो बिरुद्दमा छ अचेल
धर्तीका सबै बस्तुहरू फरक गतिमा छन्
अकास बदलिएको छ
तिमीलाई थाहा हुन छोडेको छ
कहिले फुल्छन् र झर्छन् फूलहरू !
बिल्कूल कहालिनु जस्तो मात्र
मानौ, तिम्रो कानमा बजिरहेको छ
 एकनासले, एकतमासाले, निरन्तर भएर
मृत्युको धून !

समस्याहरूले मलाई



समस्याहरुले मलाई
आफ्नो बनाउँदै लागिरहेका छन्
अनेक बहानामा तिनले
पुरानो जमानाकी बधूलाई जस्तो
ब्यबहार गर्न खोजिरहेका छन्
राति तीन बजे उठाएर तीनले
जिन्दगीको जाँतो घुमाउन भनिरहेका छन् |

समस्याहरूले मलाई
भारी माथि भारी थपिदिएका छन्
थकान माथि थकान थपिदिएका छन्
भोक माथि भोक
रोग माथि रोग
शोक माथि शोक
एक पछि अर्को अनेक थोक
एकमुस्ट उपहार दिएका छन् ।
विद्रोह नगर्नु
सहनु भनेको छ विवशताले
यहि भएर शायद
मलाई उछिनेर
विद्रोह उठेको छ मेरो मनमा ।

समस्याहरूले
दु:खलाई गीतमा गाउन दिएका छैनन्
न त पीडालाई आँसुमा रून दिएका छन्
चुपचाप बस् भन्छन् शब्दहरूलाई
जुनसुकै कारण होस्
मौन बस् भन्छन् आवाजहरूलाई
यहि भएर शायद
मन निचोरिएर पड्किन खोज्दैछ
डाइनामाइट झैं ।

समस्याहरूले मलाई
नसुत् भन्छन्
नरोकिइ, दौडि भन्छन्
कहिले उराँठ लाग्दो उकालो दिन्छन्
कहिले विरक्त लाग्दो ओरालो दिन्छन्
एउटा घुम्ति नपुगी अर्को घुम्ति दिन्छन्
एउटा बाटो नरोजी अर्को दोबाटो दिन्छन्
एउटा जंगल नछिचोली अर्को जंगलमा लान्छन् ।
समस्याहरूले मलाई
कुदाउने भएर
बीचबाटामै रोकेका छन्
समस्याहरू समस्या भएर
मेरो बाटो छेकेका छन् ।

पेशेवर कवि


तिमी रुँदा
म वियोगको कविता लेखिरहेको हुन्छु
तिमी हाँस्दा
म संयोगको कविता लेखिरहेको हुन्छु
तिमीलाई म निरन्तर प्रेम गरिरहन्छु यसरी नै
मानौ कि,
म कुनै पेशेवर कवि हुँ |

तिम्रा खुसीहरू पिएर नै हो
म सबैभन्दा धेर मात्तिने
तिम्रा दु:खहरू देखेर नै हो
म सबैभन्दा धेर आँत्तिने
तिम्रो हरेक बदलिंदो अनुहारले बदल्छ मलाई
म जो ठान्छु त्यो लेखिरहन्छु यसरी नै
मानौ कि,
म कुनै पेशेवर कवि हूँ ।

Monday, September 5, 2016

आँधी उठिसकेको छ

घाऊहरूलाई
दुख्नको निम्ति थाती राखेर
आँसुहरूलाई रूनको निम्ति रोकेर 
मेरो सपनाको आँगनमा
तिमी एकचोटी मुस्कुराऊ प्रिय !


हो,
म देखिरहेछु
मेरो परिकल्पनाको क्षितिज माथि
तिम्रा तृष्णाका प्रतिच्छायाहरू उड्दै गइरहेका
मेरो मनलाई समेत झुन्ड्याएर तिनले
हावामा उडाइरहेका !

तिम्रा आँखाहरूले रातसँग विद्रोह गरेसँगै
मेरो निन्द्राले सपनासँग विद्रोह गर्यो
सपना टुटेपछि मेरो
मैले निन्द्रासँग विद्रोह गरें
म पनि उड़ें प्रिय,
म उड़ें
तिमी जस्तै उडें
यो विपरीत दिशा भएर बगिरहने हावा
मेरो गति चोरीरहने यो समय
कसैको प्रवाह नगरी
केवल उड्न खोजिरहें
मेरो मनदेखि तिम्रो मनसम्म ।
मलाई रोक प्रिय
मलाई छेक
म भित्र आँधी उठिसकेको छ
अकासै उडाउला जस्तो !

गाऊँ फर्किएको कविता

जब तिमीले
एउटा सग्लो कविताको अगाडि उभिएर
कवितामा यो भएन / त्यो भएन भन्यौ 
कविता यस्तो हुनुपर्छ/उस्तो हुनुपर्छ भन्यौ
कविताले-
निशब्द तिमीलाई हेरिरह्यो
चुपचाप तिमीलाई सुनिरह्यो ।


नाक बांगो पारेर उभिएको थियो कविता
निधारमा टुटुल्काहरू बोकेर उभिएको थियो
गालामा आँसुका लेग्राहरू नपुछि आएको थियो
कविता,
भोकै,
फाटेको कट्टु र टिसर्टमा
ठिंग उभिएको थियो
बर्षौ नकाटेको र नकोरेको कपालमा
जिंग्रिंग ठडिएको थियो ।
पढ्दै जाँदा तिमीले कविता
बीचबीचमा कविताले
नाकको सिंगान पुछ्न
तिमीसँग टिस्यु पेपर मागेको थियो
ज्वरोले थलिएको कविताले
तिमीसँग सिटामोल र तातोपानी मागेको थियो
'तिमी त पढेलेखेको मान्छे !'
कवितालाई यस्तो लागेको थियो ।

तर तिमीले
घिनाएर कवितासँग
पुरै नपढिकनै कविता
अनुहार अर्कैतिर मोड्यौ
र विभत्स खित्का छोड्यौ ।

त्यसपछि,
उदास उदास भएर
निरास निरास भएर
पिंठ्युँ फर्काएर तिमीतिर
कविता आफ्नै गाऊँ फर्किएको थियो
कविता आफ्नै घर फर्किएको थियो ।
शहरमा परिचय विहीन कविता
सहरमा आवाजहीन कविता
गाऊँमा गएपछि
चर्को चर्को आवाजमा बोल्ने भएको छ
शहरमा अपमानित कविता
शहरमा अपहेलित कविता
शहरमा उदास र निरास कविता
गाऊँमा गीत गाउन थालेको छ
गाऊँमा गएर कविताले
चेतनाको आगो बालेको छ ।

एक्लै बरालिएर गएछ जून !

रातभर,
जून पर्खेर बसेछ मलाई बार्दलीमा
म रोएर बसेछु कोठाभित्र अँध्यारोमा
सिरकभित्र
एक्लै निस्सासिएर ।
यो कोठाभन्दा
साँघुरो र अँध्यारो पो रहेछ कि मेरो चेतना ?
यो ढोकाभन्दा
बन्द र चुपचाप पो रहेछ कि मेरो सम्वेदना ?
एकचोटी पनि
खालि एकचोटी पनि
हटाउने सुरसम्म आएन झ्यालको पर्दा
उठेर ढोकाको छेऊसम्म लर्खरिंदै
पुग्नेसम्म कहिल्यै सोचिएन
उफ् ! कति दह्रो चुकुल ठोकेछु मैले
आफ्नै मनमा ।
रातभर
आँगनमा एक्लै बरालिएर गएछ जून !
उदास उदास ऊ
रोएर गएछ बगैंचाभरी
चराहरूलाई सिकाएर गएछ
जीवनको गीत ।

कहाँ होला सपनाको फूलबारी ?

म किन हराएँ यसरी ?
कसरी कहाँ हराएँ ?
जीवन खोज्न भनेर जीवनको जंगलमा
कता पुगिरहेछु म ?
के होला उदेश्य यसरी दौडनुको ?
के होला रहस्य यसरी भौतारिनुको ?
कहाँ होला उपलब्धीको शिखर
जहाँ पुग्न कुदिरहेछ यो जिन्दगी !

श्रीमतीको मुस्कान समात्न नसकेको बर्षौ भयो
छोराछोरीको गति पछ्याउन नसकेको उति नै भयो
म कुन जंगलमा आइपुगें ?
कसरी र किन हराएँ यहाँ ?
बाल्कोनीबाट बाले बोलाए होलान्
कति साँझ बेलैमा घर नफर्केकोमा
आमाले उदाश उदाश
दैलोमा चुकुल लगाइन् होला
सुतेर पनि निदाउन नसकेका
अनेकौ रातहरू होलान् आमाका पोल्टामा !

उफ् ! कति व्यस्त यो जिन्दगी !
यो ब्यस्तता उग्राएर कुनै फुर्सदमा
जीवनको स्वाद निकाल्ने क्षण कहाँ होला ?
कहाँ होला खुसीको बगैंचा
जहाँ पुग्न दौडिरहेछ यो मन ?

कतै त्यो,
मैले हेर्न नभ्याएको
आफ्नै श्रीमतीको अनुहारमा त विलाएर गइरहेको छैन ?
कतै त्यो,
मैले सम्हाल्न नभ्याएको
आफ्नै नानीहरूको उपद्रोमा त हराएर गइरहेको छैन ?
बाको दाँतसँगै खसिरहेको पो छ कि ?
आमाको केशसँगै झरिरहेको पो छ कि ?
अलिकति त
छिमेकी दाइसँगै बसाईँ सरेर पो गयो कि ?
अर्थात्,
आफ्नै आँखाको डिलमा चाउरी परेर पो जाँदैछ कि ?
कहाँ होला सपनाको फूलबारी ?
जहाँ पुग्न उडिरहेछ यो मन ?

Sunday, August 28, 2016

घृणाको छाल

अचेल अर्थहरू
निमेषभरमै अनर्थमा बदलिन सक्छन्
चङ्गाचेट् भएर उडेकाछन्
अनगिन्ति मान्छेका मनहरू
निराधार बगेकाछन् अनियन्त्रित विचारहरू 
कुनै आसलाग्दो प्रवाह विना नै
रोकिँदै छचल्किंदै आइरहेको छ समय 

ए जिन्दगीहरू !
सपना देखेर किनारमा नउभिनु
बढारेर लैजान सक्छ आँखिरी संभावनाहरू पनि
सुकेको काठको मुढो झै ठानेर तिमीलाई
ऊ त्यो
आफैतिर आइरहेको
दुर्गन्धित घृणाको छालले ।

थाहा छैन

स्थिर छु भन्दा गतिमा देख्छु 
गतिमा छु भन्दा स्थिर देख्छु 
थाहा छैन अचेल म आफूलाई 
भएको देख्छु कि नभएको देख्छु !

मुक्तक

तिम्रो आँखाको प्रहार ठिक छैन अचेल
तिमीलाई छोएर बहने बहार ठिक छैन अचेल 
रूपको पनि त एउटा सीमा हुन्छ नि प्रिय 
अति भयो त्यो अनुहार ठिक छैन अचेल ।

मुक्तक

 कति डाह हुँदो हो तिमीलाई मैले बाँचेको देखेर
यस्तो दु:खमा पनि म हमेसा हाँसेको देखेर
अरूको रात देखेर उज्यालो हुने तिम्रो अनुहार
अँध्यारो हुँदो हो छिमेकको भाले बासेको देखेर 

बिन्ति !

यो बिन्ति हो मेरो
खालि एउटा बिन्ति
र यो अरू कसैको निम्ति नभएर
केवल तपाईँको निम्ति !

महोदय,
लुट्नु होस्
जति लुट्नु छ लुट्नुहोस्
तर नानीहरूका निम्ति केही खेलौना
दुई चार चकलेटहरू
बाबाको ढाडसेक्ने रबर ब्याग
श्रीमतीको अधबैंसे जवानी उजिल्याउने
केही कस्मेटिक समानहरू
एउटा थोत्रो टिभी
पुरानो मोबाइल
यस्तै यस्तै लिएर
बर्षौपछि देश फर्किएको
हर्कबहादुरको झोला एयरपोर्ट मै नलुट्नुहोस्
देशमै देशको निम्ति केही गर्छु भनिरहेका
युवाहारूको उत्साह नलुट्नुहोस्
त्यसरी झुटा सपनाहरू बाँढेर बर्षौ बर्ष
जनताको भावना नलुट्नुहोस्
महासय,
लुट्नुहोस् यीं सबै पनि केही छैन
तर कृपया,
मेरो बिन्ति छ !
देश भनेको आमा हुन्
देशको ईज्यत कहिल्यै नलुट्नुहोस् |

खोस्नुहोस्-
तपाईँलाई सबैभन्दा मनपर्ने
त्यो कुर्सी खोस्नुहोस्
तर इमान्दार कर्मचारीको जागीर नखोस्नुहोस्
सच्चा सुरक्षाकार्मीको बर्दी नखोस्नुहोस्
मान्छेहरू स्वन्तन्त्र हिंड्न चाहन्छन् यो सडकमा
उनीहरुका खुट्टा नखोस्नुहोस्
मान्छेहरू निस्फिक्री बोल्न चाहन्छन् यो खुल्लामन्चमा
उनीहरूको आवाज नखोस्नुहोस्
बुढी आमाको हातको लौरो
बृद्द बाबाको आँखाको चस्मा
स्कूल गइरहेको बालकको पुस्तक
कविको कलम
कलाकारको कला
केही पनि नखोस्नुहोस्
महोदय,
यी सबै जेजे खोस्नु छ खोस्नुहोस्
तर कृपया,
मेरो बिन्ति छ!
खोस्ने बेलामा कम्तिमा एक पटक सोच्नुहोस्
सगरमाथाको उचाई
बुद्दको सच्चाई
र यो देशको स्वाभिमान |

खान त खानुहोस्
तर भोको बच्चाको दुध खोसेर नखानुहोस्
बिरामीको औषधि
युवाहरूको सपना
चेलीहरूको जवानी
केही पनि बेचेर नखानुहोस्
पटक्कै नखानुहोस् गरिबहरूको झुपडी लुटेर
महाशय,
त्यो पनि खानुहोस् केही छैन
तर कृपया,
मेरो बिन्ति छ !
देशै बेचेर भने कहिल्यै नखानुहोस् ।

शुभकामना!

अनेक घामपानी सहेर पनि आफू
हातमा शुभकामनाका विटाहरू बोकेर
समयको हरेक गौंडामा ढुकिरहेको 
ए उल्लु मान्छे !
भन्नुहोस् त
अब फेरि उहाँलाई अरू केको शुभकामना ?
उहाँले त आफ्नो सपना पुरा गर्नुभएको छ
नभए ऊ हेर्नुहोस् त
जहाँ पुग्नु थियो त्यही पुग्न पाएर
उहाँ त मख्ख पर्नुभएको छ
उहाँ त सिंहदरबारको सिंह हुनुभएको छ ।
शुभकामना त,
अझैसम्म अधुरा सपनाहरू बोकेर
अनिश्चित आगत कुरिरहेको
यो देशलाई चाहिएको छ
शुभकामना त
बर्षौदेखि सपनाहरू देखिरहेका
तर सँधै निराश निराश उभिएका
यो देशका मान्छेहरूलाई चाहिएको छ ।
शुभकामना,
सिद्धिन लागेको ग्याँसको सिलिण्डरलाई
भत्किन आटेको वा भत्किसकेको पुललाई
पालमुनिको परिवारलाई
भोकै बस्न नसकेर देशमा
चारोको खोजीमा एयरपोर्टबाट उड्न लागेको नौजवानलाई
हलो भाँचिएको किसानलाई
तुईनमा झुण्डिरहेका नानीहरूलाई
र साँझ बेलैमा घर आइनपुग्ने विजुलीबत्तिलाई
चाहिएको छ ।
खासमा शुभकामना,
स्कूल जान नपाएका बालकहरूलाई चाहिएको छ
सिटामोल विनै मरिरहेका विरामीहरूलाई चाहिएको छ
सिंचाई विना सुकिरहेका वालीहरूलाई चाहिएको छ
बाँध विना डुविरहेका बस्तीहरूलाई चाहिएको छ
शुभकामना त
फोहोर किनेर खानु परिरहेका ग्राहकहरूलाई
मानब बधशाला जस्ता अस्पतालहरूलाई
पार्टि कार्यालय जस्ता शैक्षिक संस्थाहरूलाई
खरायो हिंड्ने बाटो पनि नपुगेका हिमालहरूलाई
पहिरो गइरहेका पहाडहरूलाई
सीमानामा छिमेकीसँग युद्द लडिरहेका मधेशहरूलाई
चाहिएको छ ।
शुभकामना,
फाटेको कुर्कुचालाई चाहिएको छ
भारी बेक्दा बेक्दा
थेप्चिएको तालुलाई चाहिएको छ
कुप्रिएको ढाडलाई चाहिएको छ
खुलेर मुस्काउन नपाएका
कलेटी ओठहरूलाई चाहिएको छ
भविष्य हिंड्ने सडकमा
सँधै आगो आगो देख्नुपरेका आँखाहरूलाई चाहिएको छ ।
ए उल्लु मान्छे !
सँधै सत्तामात्र अँठ्याइरहने सिंहदरबारलाई होइन
सिंह दरबारको आफूलाई मनपर्दो सिंहलाई मात्र पनि होइन
तिम्रो शुभकामना त
जनतालाई चाहिएको छ
देशलाई चाहिएको छ
कहिल्यै झुक्न नमान्ने
यो देशको स्वाभिमानलाई चाहिएको छ ।

गल्ति नै गल्ति


हामी भेटिनु एक गल्ति थियो
हामी छुटिनु पनि गल्ति नै हुनेछ
र हामी नछुटिनुमा पनि गल्ति नै भइरहनेछ 
गल्ति नै गल्तिको यो गल्लिबाट
तिमीले मलाई
जता जान इसारा गरेपनि
अब त्यो गल्ति नै हुनेछ !

गल्ति बोकेर हिंडिएको छ
गल्ति टेकेर हिंडिएको छ
लड्दा गल्ति गरेरै लडिएको छ
उठ्न भनेर केही समाउँदा
झन् गल्ति समातिएको छ ।

हेर्दा गल्ति हेरिएको छ
सोच्दा गल्ति सोचिएको छ
बोल्दा गल्ति बोलिएको छ
आफू जहाँ पुगिएको छ
त्यहाँ चुपचाप गल्ति उभिएको छ
गल्ति नै गल्तिको यो गल्छ्यौडोबाट
तिमीले मलाई
जता जान इसारा गरेपनि
अब त्यो गल्ति नै हुनेछ !

गल्ति नै गल्तिको थुप्रोमाथिबाट
गल्तिको पहाड उभिएको छ पर्खाईमा
छेवैबाट बगेको छ अर्को गल्तिको भंगालो
जता गए पनि बाटो
गल्तिले यहि आइपुग्ने छ घुमेर ।

गल्ति नै गल्तिको यो गन्जागोलबाट
तिमीले मलाई
जता जान इसारा गरेपनि
अब त्यो गल्ति नै हुनेछ !

२२.गजल


यो गजल यो मनको म गाउन सक्दिन
अति छट्पट् छ मन समाउन सक्दिन

सुनौलो त्यो बदन आँसुमा भिज्यो रे
धेरै टाढा छ ज्यान म आउन सक्दिन

बग्यो जिन्दगी यो अनेकौ लहरमा
म आफ्नै पारामा बगाउन सक्दिन

सँधै रोई हिंडें, कराएँ बेस्सरी
के प्यार जिन्दगीमा म पाउन सक्दिन ?

समय भनौं कि, नियति भनौ कि
म दोष अरूलाई लगाउन सक्दिन 

२१.गजल


त्यो मुहार बलेको हेर्नु छ
यो रात ढलेको हेर्नु छ

मलाई हिंड्दैन भन्ने मान्छे
म सँग गलेको हेर्नु छ

बोल्दिन भन्ने मान्छे तिमी
तिम्रा ओठ चलेको हेर्नु छ

यसै छाड्दिन म भन्नेले
बदला नलेको हेर्नु छ

गाह्रो हुन्छ भन्थे सबैले
पत्थर पग्लेको हेर्नु छ ।।

अकास भएर

कसरी रेखाँकन गरूँ म तिम्रो प्रेम ? 
कहाँ कहाँ बाँधूँ बाँध ? 
कता कता लगाऊँ सिमाना ? 
मेरी प्रिय,
तिमी त अकास भएर मलाई छोप्दै छौ ।

एक हूल मुर्कुट्टाहरू !

हरेक सोचमा 
ढुसी परेको छ
कुना कुनामा दिमागको 
काई लागेको छ
सिंगो सभ्यता नै दुर्गन्धित हुनेगरी 
स्वास बाहिरिएको छ प्रत्येक आवाजमा
सँधै कुरूप दृष्यको खोजमा
तन्किएका छन् आँखाहरू
देशै निले पनि नअघाउने भुँडी लिएर
समयको गति नै रोकेर बीच सडकमा
बसेका छन् युगको ढाडमाथि
एक हुल बकासुरहरू
जो आफूलाई आधुनिक ठान्छन्
जो आफूलाई दुरदर्शी मान्छन्
युगौंदेखिको लेऊ जमेको छ तिनका पाइतलामा
तर पनि ऊनिहरू
फर्किएर ढाडतिर
जिस्किंदै मान्छेका आधारभूत सपनासँग
उग्राइ रहेछन् अग्रगमनको नारा !

मानौ, बाटो होइन अगाडिको
एक भड्खारो हो
तै पनि,
अविदितको यात्रामा झै तम्तयार छन्
अनौठा मान्छेका हूलहरू
लाग्छ- उठेर अर्धनिन्द्रामा
आफै चिहानघारी गइरहेछन्
एक हूल मुर्कुट्टाहरू !

मुक्तक


यो फूललाई पनि विर्षन्छु, जब तिम्रो मुस्कान आउँछ
सम्झनु मात्र पर्छ तिमीलाई हरेक कुराले सताउँछ
ढाँटेको हो अर्थात् साँचो हो,आऊ तिमीले आफै हेर
यहाँ जे हाल छ मेरो सबै यो सुन्सान् घरले बताउँछ ।

मुक्तक

मुस्किल छ जिन्दगी जिउन यहाँ 
रगत बेच्नुपर्छ पानी पिउन यहाँ 
जति जोडिन खोजे पनि टुक्रिनु पर्छ 
सबै भन्दा गाह्रो छ मन सिउन यहाँ ।

पात्र जस्तै..


मार्थाहरू प्रेमको पक्षमा जिद्दी गरिरहुन्
प्रशान्तहरू अड्डी कसिरहुन् अहम्मा
अस्तित्वको नाममा ओइलिएर झरिरहुन् सकम्बरीहरू
आकर्षणको बाटो बिराएर
पश्च्तापमा जलिरहुन् सुयोगबीरहरु……
र सारा बैंस रातमा गुमाओस् पारीजातले
आंखिर संसार भ्रमको खेल मैदान नै त हो
आंखिर संसार भ्रमको रंगमंच नै त हो

हामी टुसाएर आतंक हुन्छौं परम्परामा
परम्परा बिलाएर आतंक हुन्छ हामीमा
एउटा निरन्तर युद्ध जारी छ सदियौंदेखि
न जितेका छौं हामीले
र न जित्न पाएको छ परम्पराले
हाम्रो संधै गुनासो परम्परासंग
र परम्पराको संधै गुनासो हामीसंग
एउटा बित्थाको कोकोहोलो निरन्तर बगिरहेको छ
र हामी भ्रमका किनारहरु आधार मानेर
प्रबाहामा सामेल छौं

सबैले बुझेको
तर आफैले बुझ्न नसकेको
सबैले जीत ठानेको
तर आफूले निरन्तर हारेको
कतै मार्था ! कतै प्रशान्त !
कतै सकम्बरी ! कतै सुयोगबीर !
कतै पारिजात !
कुनै कीर्तिका खातिर पात्र भईदिनु
र सम्बेग जन्माई दिनु हरेक पाठकमा
वा नाचिदिनु कतै थिएटरमा
अर्थात रोई दिनु छिनभर बेस्सरी
हांसी दिनु , जोक्कर भैदिनु
रिसाई दिनु , कसैसंग नाबोलिदिनु
पछुताउनु , आफैसंग झर्किदिनु
यसो भैदिनु , उसो भैदिनु
र कसै गरे पनि कता कता नामिलिदिनु
अर्थात नमिले झै लागिदिनु
फेरी कहिले टक्क मिले झै होइदिनु
र मन फुरुंग भईदिनु

एउटा भ्रमको खेल मैदान नै त हो जिन्दगी
एउटा भ्रमको रंगमंच नै त हो जिन्दगी

आत्मियता

समयको दुरी 
या भूगोलको दुरी
कुनै पनि दुरी बहादुरी हुनेछैनन् 
जबसम्म निकट रहन्छ 
हाम्रो आत्मियता !

प्रश्न


हरेक मन्दिरको मूर्तिलाई
अचेल भ्रम हुँदो हो
खासमा ऊ,
मूर्ति मात्र हो कि ईश्वर पनि ?
प्रत्येक मन्दिरको पूजारीलाई
अचेल प्रश्न हुँदो हो
वास्तबमा ऊ,
पूजारी मात्र हो कि मान्छे पनि ?

गोपिनीहरूको तर्फबाट


अचेल कृष्णहरू मुरली बजाउँदैनन्
तर यो जान्दाजान्दै पनि
कृष्ण जस्ता लाग्ने
स-साना नानीहरूका हातमा
हामी एकएक वटा मुरली थमाइ रहेछौ ।

र त्यसपछि
आफ्नै अन्तर्मनमा सुनिरहेछौ
प्रेमको सुरिलो धून
अनुभूत गरिरहेछौ
मुरलीमाथि जिस्किरहेका कलिला औलाहरू !

यतिखेर -
यो तन्द्राबाट ब्युँतेर
लखेट्नु जस्तो भएको छ कृष्णलाई ।

धेरै कुरा बदलिए होलान्
उसो त पहिलेका जस्ता छैनन् कृष्ण पनि
तर युग-प्रतियुग उस्तै छौ
हामी पागल प्रेमीहरू !

समय जस्तो मान्छे

बरू समय समयमा नहिड्ला 

बरू समय समयमा आइ नपुग्ला
तर ऊ सँधै समयमा हिंड्छ र समयमै आइपुग्छ
ऊ आइपुग्दा छ बजेको हुन्छ
छ बज्दा ऊ आइपुग्को हुन्छ
यस्तो भैसक्यो
ऊ आइपुग्नु भनेको छ बज्नु हो
मानौ, ऊ एक घडी हो
घडीमा सेट भएको एक घण्टी हो ।

सँधै ऊ
मेरो घरको छेऊ भएर
समयमै आउँछ र समयमै जान्छ
समय बरू 
समयको गतिमा छ कि छैन ?
 संका गर्न सकिन्छ,
तर उस्लाई हेरिरहँदा लाग्छ -
ऊ नै एउटा यस्तो घडी हो
जो स्वयम् समय भएर
निरन्तर एकै गतिमा
 बगिरहेछ ! 

धेरै काम बाँकि छ

नयाँ स्थापना गर्नु मात्रै छैन

पुरानो भत्काउनु पनि छ
बढार्नु छ धेरै कुरा ।

निर्माणै नभइकन घर
भत्काउन खोज्नेहरू पनि छन्
छाउने वित्तिकै घर
सल्काउन खोज्नेहरू पनि छन्
काममा अबरोध कति छन् कति
बेलाबेला पल्लाघरको आउँछ र उल्क्याइ रहन्छ
सहपाठी ठेकेदारहरूलाई ।

घरको हरेक कुनामा
बनि सक्दा नसक्दा घर
माकुराहरू जाल थाप्ने तयारीमा छन्
भ्यागुत्ताहरू पेटीमै ट्वारट्वार गरिरहेछन्
अझै कत्ति धेरै काम बाँकि छ
राम्रोसँग मिलिसकेकै छैनन्
घर भित्रका कोठाहरू ! 

बस् कविता पो लेखेको

म थान्का थान कविता उत्पादन गर्न सक्ने 
त्यो यन्त्रवत कवि होइन, 
जहाँ तिम्रा बिचारको कच्चा पादार्थ 
मेरो कलम भएर कविता हुन्छ | 

मैले तिम्रो निम्ति कविता लेखेको हो र ? 
मैले मेरै निम्ति पनि कविता लेखेको हो र ?
मैले त 
बस् कविता पो लेखेको |

क्रान्ति भनेको के हो ?


कविताहरू पनि क्रान्तिमा सामेल भए
गीतहरू पनि क्रान्तिमा होमिए
नाटकहरू पनि क्रान्तिमा समर्पित भए
गजलहरू
कथाहरूले पनि क्रान्ति बोकेर हिंडे |

तर,
जितिसकेपछि युद्द
खुसीले/उन्मादले
मान्छेले क्रान्ति बिर्सियो
बिर्सियो घाइते भएको कविता
रोइरहेको गीत
तोडफोड भएको नाट्यशाला
कहिले बिर्सन नसकिने मृत्युका कथाहरू
त्यो पनि बिर्सियो |

मेरा र तेरा भए पत्रपत्रिकाहरू
प्रसंसा र गालीले भरिए लेख रचनाहरू
एउटा स्वतन्त्र कविको कविता
रुँदै रुँदै
पुरानै ठेगानामा फर्कियो |

कुनै दिन
क्रान्तिको ब्याख्या गरेर नथाक्ने
एउटा सोझो कलम
एकाएक वाक्यको अन्तिममा
बाङ्गिएर आफै प्रश्न चिन्हमा उभियो
क्रान्ति भनेको के हो ? (?)

‪‎बुझेनौ तिमीले‬

आगोबाट निकालें तिमीलाई 

भंगालोबाट बचाएँ
बोकेर हिंडे भड्खाराहरूमा
चौतारीमा आराम गर्न भने
नजाऊ भने काँडाघारीहरूमा
जुनको सितल ताप्न निकालें
जुनेली रातहरूमा
सिउरिदिएँ मगमग पारिजातका फुलहरू
तिम्रा सुन्दर केशहरूमा !

बुझेनौ तिमीले ,
अहँ,पटक्कै बुझेनौ मेरो प्रेम
सँधै मागिरह्यौ -
सुनको सिरबन्दी
हिराको हार
डायमण्डको औंठी ।

भोकै नबस्न भने
लुगा लगाऊ भने ठण्डीहरूमा
तिमीलाई हेरेर मुस्कुराउन खोजें
रमाएको देख्न खोजें तिमी
सँधै कस्तो छ सोधिरहें
थाक्यौ होला आराम गर भनिरहें ।

बुझेनौ तिमीले ,
अहँ, पटक्कै बुझेनौ मेरो प्रेम
म सुन्न चाहन्थें -
तिम्रो प्रेमको ढुक्ढुकी !
तिमीले सुनाउन खोजिरह्यौ मलाई
चुराको छिङ् छिङ्
पाउजुको छमछम !

पढ्न खोजिरहेछु

म जथाभावी कराइरहें 

आवाजलाई एकत्रित गर्नुपर्छ मैले
यो कहिल्यै सोचिन
र यो पनि सोचिन
कि मेरो आवाज व्यवस्थित हुनुपर्छ ।

त्यसै कराइरहें
जसरी लाटकोसेरो कराउँछ रातमा
जसरी भ्यागुत्ताहरू टर्टराउँछन् आहालमा
धेरै परबाट आएको
भीडको आवाज जस्तै
कसैले बुझेन मेरो आवाज ।

हरफमा त के
शब्दमा पनि बोल्न सकिरहेको छैन
बरू मुटु जस्ता अक्षरहरू टुक्र्याइ रहेछु
र पढ्न खोजिरहेछु जिन्दगीको बक्ररेखा ।

सपना हो ऊ

अर्थ नभएपछि बोल्नुको

ऊ आफै बोल्न छोडेको हो
तिमीले सोचे जस्तो ऊ
नि:शब्द हुँदै होइन,
अहँ,ऊ तिमीले नसुने जस्तो
चुपचाप छँदै छैन ।
.
हिंडेर कहि नपुगेपछि
ऊ बेलाबेला सोच्दै रोकिएको हो
तिमीले सोचेजस्तो ऊ
गतिहीन छँदै छैन,
अहँ, ऊ तिमीले देखे जस्तो
स्थिर हुँदै होइन ।
.
टाढा टाढा क्षितिज हेर्न थालेपछि
निन्द्रामा उक्लिन थालेपछि पहाड
चटक्कै बिर्सियो उस्ले
आफ्नै आँगनको तगारो
भुल्यो सारा बगैंचाका फूलहरू
.
देख्नै छोडेको होइन उस्ले
बरू देख्न थालेपछि धेरै परपर
बेला बेला देख्दैन उस्ले आफ्नै वरिपरि ।
.
जस्तो-उस्ले देखिरहेको छैन
तिमी तरबार बोकेर ऊतिर गइरहेको
लाठी बजार्न आटेको टाउकोमा
तिमीले घेरा हालेको या बन्दी बनाएको,
बाटोमा एम्बुस थापेको -
र भोकाएको उसको पेट
निको नभएका उस्का घाऊहरू
यो त झन् उस्ले देख्ने कुरै भएन ।

तिमीलाई सिर्फ बुझ्नु छ भने 'उस्ले देख्छ देख्दैन'
उस्ले हेरिरहेको क्षितिजमा वम पड्काइ देऊ
ऊ उक्लिरहेको पहाडमा पैह्रो लडाइ देऊ
तिमीलाई विस्वास छ भने आफ्नो बहादुरीमा
त्यहाँ उभिएर जिस्क्याऊ उसलाई
जहाँ पुग्न ऊ खोजिरहेको छ ।

तिमी जस्तो लाछी होइन ऊ
अहँ,बिलकुल होइन
तिमीले सोचे जस्तो कदापी छँदैछैन ।

ऊ कहिल्यै बलेर नसकिने
आगो बीचको एक उदेश्य हो
ऊ कहिल्यै बगेर नसकिने
आँसुबीचको एक आसा हो
जतिसुकै बर्ष या शताब्दी वितोस्
त्यहाँ पुग्नको निम्ति ऊ
युग प्रतियुग हिंडिरहने एक गति हो
चुपचाप सुनिए पनि
चुपचाप बस्नै नसक्ने
निरन्तर बजिरहने ऊ एक आवाज हो ।

सपना हो ऊ
ऊ जिन्दगी हो ।

तिमी अस्ताउनुसँगै


यो किनारामा
एक्लै छोडेर मलाई
चुपचाप तिमीलाई लिएर गयो समयले
र यीं जिन्दगीका छालहरू
पत्थर सोचेर मेरो मुटुलाई
निरन्तर ठोकिंदै गइरहेछन् |

सानो नदीमै आँतिने मान्छे म
आफूभित्र आज
सागर बोकेर उभिएको छु |

तिमी अस्ताउनुसँगै
उदायो ममा एउटा अन्धकार
निस्तब्ध छ यो आकाश
सुन्दिन म कुनै प्रेमको वार्तालाप
जुनसुकै कोठा पनि निर्जीव सुतिरहेछन् जस्तो
खाटको कुनै आवाजले
उक्लिने हिम्मत गरेको छैन झ्यालसम्म
बरू दलिनमा आत्महत्याको दृश्य कोरिरहेछ
मेरो यहीं एउटा कमजोर कविता जस्तै |

श्रीमतीको डाइलग‬

जब जब नारीका निम्ति भनेर
नयाँ बिधेयक बजारमा सुनिन्छ
बिरामी नै हुनुहुन्छ हजूर
बिरोध, खालि बिरोध गर्नुहुन्छ
मानौ,
अब चाँडै यो घरमा
पुरानो सत्ता ढल्दै छ |
.
पति महोदय,
तपाईंको सत्ता तापईँनै चलाउनुहोस्
अब हजार बर्ष राज गर्नुहोस तपाईं
तर कृपया,
राम्रोलाई राम्रो
र नराम्रोलाई नराम्रो भनिदिनुहोस्
मेरो पति,
कम्तिमा साँचोलाई साँचो भनिदिनोस् !
.
सबै मरेर आफू भित्र
पति मात्र जीवित उभिनुहुन्छ मेरो सामु
सिर्फ पति !
र भन्नुहुन्छ-
"मलाई पोथी बासेको मन पर्दैन |"
.
आफूभित्र,
मरेको छोरोलाई ब्युँताउनुहोस् आफूबाट
र आमाको काखमा मुन्टो जोतेर रुनुहोस्
ब्युँताउनुहोस् भाइलाई आफूबाट
र दिदीको अगाडि घुँडा टेकेर माफी माग्नुहोस्
यो छोरीले अपसोस मान्ली कुनैदिन बाबु सम्झेर
थुक्ली पुजा गर्ने तस्बीरमा
कि यसलाई न्याए दिनुहोस कि त मारिदिनुहोस् !
.
मेरो प्यारो पति !
खै ! किन किन,
अझै पनि मलाई विश्वासै लाग्दैन
अहँ पटक्कै त्यस्तो लाग्दै लाग्दैन
कि मेरो यो कलिलो छोरो
बाबुको बिचारको उताराधिकारी बन्नकै निम्ति
हतार हतार हुर्किरहेको छ !

Friday, August 26, 2016

४. गीत

छोडेर गयौ के भन्नु मैले छोडेर जानेलाई
लाज नै विना लाजको घुम्टो ओढेर जानेलाई

कसैको भर जीवनमा फेरि परूँ कि नपरूँ ?
सबैले गर्छन् मायाका कुरा गरूँ कि नगरू ? 
एकैसाथ हुन पाइदैन भन्यौ भाविले नलेखे
आँसुको मुल्य नहुँदो रैछ देख्नेले नदेखे

नसम्झुँ भन्छु संझेकै हुन्छु संझना पापी छ
छ न त अरू मसँग केछ यही याद बाँकी छ
भेटेर मलाई कुनै दिन तिम्ले भुल भयो नभन्नु
पराई मान्छे पराई हुनु मायालु नबन्नु


Sunday, July 3, 2016

तीन गीतहरू

१.गीत

सुख पनि सोध्दिन म, दुख पनि सोध्दिन म
तिम्रो जस्तो पाइलै पिच्छे पछ्याउन खोज्दिन म
तिम्रो आफ्नै संसार........
मेरो आफ्नै संसार ........
भुल्छु बरू तिमीलाई आफ्नो बाटो भुल्दिन म
जहाँ रोप्यौ काँडा तिम्ले मनको खाटो भुल्दिन म
दुखे पनि आफै दुख्छु, निको हुन्छु आफै फेरी
बुझाउँदिन आफूलाई खोटी तिम्रो तस्बीर हेरी |
आफ्नो पनि हुँदिन म, पराई पनि बन्दिन म
तिम्रो जस्तो पाइलै पिच्छे पछ्याउन खोज्दिन म
तिम्रो आफ्नै संसार........
मेरो आफ्नै संसार.........
फुलिन्जेल फूलको यहाँ सबले चर्चा गर्छन्
झरे पछि भूईंमा फूल पर पर सर्छन्
तिमी पनि उस्तै थियौ उस्तै हौली भन्दिन म
नहुँदैमा मेरो तिमी कुरा काट्दै हिंडदिन म
कहाँ गयौ कस्तो भयौ केही पनि सोध्दिन म
तिम्रो जस्तो पाइलै पिच्छे पछ्याउन खोज्दिन म
तिम्रो आफ्नै संसार........
मेरो आफ्नै संसार

२. गीत

दिलको कुरा गर्छौ तिमी दिलै बुझ्दैनौ
दिल भित्र गाडिएको खिलै बुझ्दैनौ ||

क-कसलाई रुवाउँछौ, क-कसलाई सताउँछौ
जाली माया साँचो भनी क-कसलाई बताउँछौ
कतिन्जेल निस्ठूर हुन्छौ, कतिन्जेल पापी हुन्छौ
कति मुटु टेक्दै जाँदा, कति तिमी माथि हुन्छौ

दिलको कुरा गर्छौ तिमी दिलै बुझ्दैनौ
दिल भित्र गाडिएको खिलै बुझ्दैनौ ||

दुख्ला मुटु एकदिन, आँसु झर्ला आँखाबाट
खस्ला खुटा तिम्रो पनि जिन्दगीको बाटाबाट
छोडिजालान् नबोल्लान्, तिमीले माया गर्नेहरू
फर्किएर नहेर्लान्, तिम्रा निम्ति मर्नेहरू

दिलको कुरा गर्छौ तिमी दिलै बुझ्दैनौ
दिल भित्र गाडिएको खिलै बुझ्दैनौ |


३.गीत

मनको कुरा मनै भित्र मैली जाने हो कि
यति सुन्दर जवानी यो ओइली जाने हो कि

देख्छु तिमी, छेऊ पर्छु, बोल्न सक्दिन म
आफ्नै लाग्छौ, आफ्ना कुरा खोल्न सक्दिन म
घाऊ बनी तिम्रो माया फैली जाने हो कि
मनको कुरा मनै भित्र मैली जाने हो कि


देस रहे, बिदेस गएँ, कर्म उस्तै मेरो
जस्लाई जति पोखे पनि मर्म उस्तै मेरो
विरहले मेरो मन सँधै खाने हो कि
मनको कुरा मनै भित्र मैली जाने हो कि

यति सुन्दर जवानी यो ओइली जाने हो कि
मनको कुरा ......................................|



Saturday, July 2, 2016

बीस गजल


कठीन थियो तिम्रो अनुबाद हुबहु सार्न खोजें
अदृश्य थियौ तिमी तस्बीरमा उतार्न खोजें

स्वार्थ सबको हुँदोरहेछ, मेरो पनि भयो एउटा
सबको थियौ तिमी मात्र आफ्नै पार्न खोजें

के भन्छ यो दुनियाँ, नै के भनूँला आफूलाई
सायद भूलें सबकुरा परम्परा बिगार्न खोजें

ममा डर थिएन, के गरूँ कसो गरूँ थिएन
किन हड्बडायौ तिमी गहिरो बिचार्न खोजें

किन बन्द गर्छौ सँधै हाम्रो जीवनको ढोका
रिसाएर हेर्यौ तिमीले मैले जब उघार्न खोजें

सपना सँधै यहाँ सपना मात्र हुन्छ किन
शिशा जस्तो यो जिन्दगी भुईंमा बजार्न खोजें !



बदलिन्छु छिन छिनमा परिचय माग्छौ तिमी
अडिन जान्दिन एकै छिन खै कहाँ राख्छौ तिमी

सम्हाली नसक्नु मेरो प्रेम चुलबुले बालक झैँ
हैरानी देख्दिन कुनै दिन कहिले थाक्छौ तिमी

अरे जे पनि खप्न सक्ने जस्तो पनि सहन सक्ने
त्यस्तो के तिमीमा आश्चर्य लाग्छौ तिमी


.गजल

कहाँ पुग्छ कहाँ पुग्छ मान्छे बाँच्ने रहरमा
हराएको छैन अझै, छँदै छु सहरमा

जता जता हिंडे पनि,जती माथि पुगे पनि
झुकेको छु निरन्तर तिम्रो प्रेमको कदरमा

ईच्छा अझै मर्या छैन, पातहरू झरिसके
फुल्दै कि फूल अझै, गुलावी त्यो अधरमा

यता पनि सन्चो छैन,बिसन्चो नै होला त्यता
तर पनि रूनु हुन्न परायको नजरमा

कहाँ लैजाउँ कता राखूँ, सपनाको जिन्दगी यो
रोप्नु हुन्न आशा भन्छन् निराशाको बगरमा


.गजल

उठिसक्दा ढल्नुको पीडा मसँग
बल्नुभन्दा जल्नुको पीडा मसँग

मलाई कोशौंको शुभकामना दिनेहरू
हिड्नु अघि गल्नुको पीडा मसँग

हेर कति रूखो आफ्नै यो जिन्दगी
अरूलाई नै मल्नुको पीडा मसँग

कहिले फेरिनु हो आफू आफैमा
यो युग बदल्नुको पीडा मसँग


.गजल
जिन्दगी हो यस्तो हुन्छ, हार नमान्नु तिमीले
थाक्नु स्वाभाव हो यात्राको दिग्दार नमान्नु तिमीले

उक्लनु पर्छ कति कति संघर्षका पहाडहरू
अरुले जस्तो जिन्दगी यो उपहार नमान्नु तिमीले

आफै उभिन खोज्नुपर्छ, हिंडेर पुग्नुपर्छ आफैले
अरूलाई टेकेर हिड्ने आधार नमान्नु तिमीले

मैले पनि ढाँट्न सक्छु अरूको के कुरा गर्छौ
ब्यबहार हेर्नु बोलीमा पत्यार नमान्नु तिमीले


.गजल
नसोध्नु राजनीतिमा ईमान्दारिता कति हुन्छ
जति नै राम्रो कुरा होस् बिपक्षीसँग बिमति हुन्छ

आफूले सोचेको एजेन्डा अरूले पैले ल्यायो भने
कसरी बिगार्ने त्यसलाई भित्रभित्रै भत्भति हुन्छ

जब घाटा भो हामीलाई एकअर्काको खुट्टा तान्दा
मिलेर खाँदैछौं अचेल भागबण्डामा जे जति हुन्छ

कसरी खेल्नुपर्छ खेल यो सब हामीलाई थाह
जनताको के लाग्छ आस्वासन नै ओखती हुन्छ

थोर बहुत मान्छेहरू सडकमा आएर के भो !
तिनले बालेको आगो तिनकै निम्ति दागबत्ती हुन्छ


७.गजल
म मान्छेहरूकै भीडमा छेकिएको मान्छे
म कहिल्यै पनि कहिं नदेखिएको मान्छे

मर्न त क्रान्तिमा मेरा पुर्खाहरू पनि मरे
म इतिहासमा कतै नलेखिएको मान्छे

के के बिक्रि भएन मेरो शरीर या भावना ?
सँधै अरूकै मुल्यमा म बेचिएको मान्छे

कहाँ पुगें त म यसरी आजसम्म हिंडेर ?
म सोच्दा सोच्दै यात्रामा रोकिएको मान्छे

संकेत पनि हुनसक्छ जमाना बद्लिएको
यसरी सोच्ने भएछु म हेपिएको मान्छे !


८.गजल .
बिनासित्त कसैलाई नपिर्नु तिमीले
नजरबाट कसैको नगिर्नु तिमीले

यसै भन्थे बाले, भन्थिन् आमाले
नपुगी लक्ष्यमा, नफिर्नु तिमीले

जे जे माग्न पाइन्छ भनि देउतासित
पाप सोची मन्दीर नछिर्नु तिमीले

बिनासित्त कसैलाई नपिर्नु तिमीले
नजरबाट कसैको नगिर्नु तिमीले


९.गजल
फर्केंर अनुहारमा हेरें आँखा रातो थियो
छामे ओठमा र हेरें स्वास तातो थियो

बसिसक्नु थिएन चौतर्फि असुरक्षा
भागें धेरै पर र हेरें आफ्नै माटो थियो

जुलुस थियो, सडकमा बन्द हड्ताल थियो
दुखें गहिरो र हेरें रगतको टाटो थियो

टक्क उभिएँ, अडिएँ, म एकछिन् रोकिएँ
खोलें आँखा र हेरें अनिश्चित बाटो थियो

कति कुरा छुट्छन्, भुलिन्छन् कति यात्रामा !
सम्झें तिमीलाई र छामे एउटा खाटो थियो |


१०.गजल
दु:ख सबले भुली हाल्छन् पुग्दै गएपछि
बाचा बाचा जस्तै हुन्न फुक्दै गएपछि

निरन्तर आफ्नो यात्रा अघि बढ्नुपर्छ
कछुवाले पनि जित्छ रूक्दै गएपछि

सकेसम्म स्वाभिमान बचाएको राम्रो
जो सुकैले हेप्न सक्छ झुक्दै गएपछि

हुँदा मात्र हेर्छन् सबले भइरहेको जाती
सागर पनि भुलिदिन्छन् सुक्दै गएपछि

मनै असल मनै खराब मनै सबै भनौ भने
मन पनि त मर्छ फेरी दुख्दै गएपछि |


११.गजल
बेला नै हो यो उनको शिर झुकाइन के भन्नु
गल्ति आफ्नै पनि हो दिल दुखाइन के भन्नु

सुनेको हुँ बुझ्नेलाई त इसारा नै काफी छ
मरेकै हुन् आँखाको चाल कुरा लुकाइन के भन्नु

लजाएकै हुन् अलिकति मुस्काएकै पनि हुन्
तरिका यहीं नै त हो प्यार छुपाइन के भन्नु

हुँदा सम्म उनी सामु कुराकेही नखोलेर
छुटिसकेपछि फेरी पसिना छुटाइन के भन्नु

अरे उनको त के कुरा रूपै काफी छ देख्नेलाई
जहाँ गयो उहीं मालामाल मौका चुकाइन के भन्नु


१२.गजल
नदीको भन कुन लहरमा छौ तिमी
गजलको भन कुन बहरमा छौ तिमी

म जानू कसरी, थाहा पाऊँ कसरी
गाऊँमा भन या सहरमा छौ तिमी

म थाकें भनेर नहिड़ने कति छन्
जीवनको भन कुन प्रहरमा छौ तिमी

अरे यो मधुमास, अरे यो रंगीन साँझ
सायद त्यो गुलाबको अधरमा छौ तिमी

फेरिन्छ यो मौसम, फेरिन्छ जिन्दगी
फेरिने भन कुन रहरमा छौ तिमी

यी प्रश्न हजार म गर्दछु किन खै
मेरा हर यी निर्दोष नजरमा छौ तिमी


१३.गजल
बैगुनी यो दुनियाँमा गुनको के कुरा
अँध्यारोमै रम्नेसंग जूनको के कुरा

गाउंदेखि सहरसम्म सबै बिरानी छ
लुटी खाने मात्र देक्छु कुनको के कुरा

आफन्तीले पनि यहाँ लखेटेर खेद्छ
आफ्नै शरीर आफ्नै नसा खुनको के कुरा

मानवता रीतिथिति संस्कृति केही छैन
सारंगीमा निदाएको धूनको के कुरा

मेरो बस्ती भीर पाखा सुनाखरी सून्य
पित्तल प्यारो ठान्छन् सबै सूनको के कुरा


१४.गजल
अनायसै टक्क रोकियो जिन्दगी
छचल्किई कतै पोखियो जिन्दगी

न कतै छ खुसी न कतै छ हाँसो
जली खागखाग भो की यो जिन्दगी

खालि रिक्त छाती खालि आँसु पीडाको
कतै सुन्य रात हो की यो जिन्दगी

संधै बांडनु मात्र रहेछ सित्तैमा
सयौ चोटी आफ्नै सोचियो जिन्दगी

न भन्न सक्छु न भन्छौ तिमीले
सुन चाँदी हो या मोटी हो जिंदगी


१५.गजल
संधै तिमी हिड्ने बाटो यता सारुं कसरी म
आफ्नै जस्तो लाग्ने तिमी आफ्नो पारुं कसरी म

कति चोटी भेट भयो केही भन्न सक्या छैन
मनको इच्छा मनै भित्र यसै मारूं कसरी म

तिमी आउंदा कति कति रहरहरु संगै आउंछन्
तिमी जान्छौ सबै जान्छन् आँसु झारूं कसरी म

समझनामा पनि तिम्रै याद मात्र आइदिन्छ
तिम्रो प्रीति ममा छैन भनी टारूं कसरी म

भनू भने आफ्नो कुरा तिमी रिसाई जाने हौ कि
म दुखेको कस्ले बुझ्छ एक्लै हारूँ कसरी म


१६.गजल
चाहिदिन्छु संधैभरी हित हजूरको
गाइबस्छु हर हमेसा गीत हजूरको

हाँसेको छू चुप चाप हारे पनि आफू
कामना उत्सबमय जीत हजूरको

आइरहन्छ याद संधै छोडि गए पनि
सम्झिहेर्छु कस्तो कस्तो प्रीत हजूरको

फेरि कतै एक पल्ट देखूँ देखूँ लाग्छ
जति पियो तर उस्तै धीत हजूरको

आँखिर जे जे भने पनि आभाव एकै
कि त्यहीं पिरतीको कि हजूरको


१७.गजल
मैले रोए मेरो पीडा गीत भन्छौ तिमी
मैले हारे तिम्रो जिद्दी जीत भन्छौ तिमी

संधै तिम्रो प्यार सम्झी जली रुंदा पनि
स्वर्थिले आफ्नै हेर्छ हीत भन्छौ तिमी

यता रात हुंदा उता दिन खुल्छ रे तिम्रो
के हो ? भन्दा नियतीको रीत भन्छौ तिमी

आफै माया मारी जान्छौ आफै पराई बन्छौ
बुझ्नै कठिन निष्ठुरीको प्रीत भन्छौ तिमी

निषा ओढी उदाशी भै झोक्रिएर संधै
रात भर रात रुन्छ शीत भन्छौ तिमी


१८.गजल
कैलेकहीं अफना कुरा बताउन गौरी
मलाई पनि एक दुई चोटी सताउन गौरी

संधैभरी हिस्सी मुहार लगाएर हेर्छौ
रिसाउंदा कस्ति हुन्छौ रिसाउन गौरी

निहूँ खोग्नु , घुर्क्याउनु , नाबोल्दिनु बरु
सहिरहने तिम्रो बानी घटाउन गौरी

भए भरको सबै दिनु भन्छौ एकै चोटी
अली अली गर्दै माया खटाउन गौरी

तिम्ले पनि बोले हुन्छ भने हुन्छ तिम्ले
खपिरहने तिम्रो बानी हटाउन गौरी


१९.गजल
डुब्नै लागेथ्यो घाम तिमी झुल्किदियौ
खसी सकेथे कान तिमी झुल्किदियौ

यो एक्लो जिन्दगी यो उदास जिन्दगी
सोच्थें बाँच्नु के काम तिमी झुल्किदियौ

संधै निन्याउरो बेहोसी मै थिएँ
बढी गयो नि शान तिमी झुल्किदियौ

के थिएँ तिमी मेरो एउटा थियौ
हुनुको पाहिचान तिमी झुल्किदियौ



२०.गजल
आज तिमी अलि कमै लजाएको देखें
कोरीबाटी केश बढ़तै सजाएको देखें

संधै पनि बोल्दिनथ्यौ तर आज भने
इशारामै कतिकुरा बताएको देखें

घरी आयौ स्पर्श्मा घरी टाढा भाग्यौ
के के हुन्छ तिमी भित्र छ्टाएको देखें

छुट्ने बेला अगिअगि हाँसी हाँसी छुट्थ्यौ
के पीर पर्यो कुन्नी आँशु खासाएको देखें

कैले कहीं मैले रुंदा गाली गर्ने मान्छे
आज आफै रोई मलाई सताएको देखें