Sunday, August 28, 2016

घृणाको छाल

अचेल अर्थहरू
निमेषभरमै अनर्थमा बदलिन सक्छन्
चङ्गाचेट् भएर उडेकाछन्
अनगिन्ति मान्छेका मनहरू
निराधार बगेकाछन् अनियन्त्रित विचारहरू 
कुनै आसलाग्दो प्रवाह विना नै
रोकिँदै छचल्किंदै आइरहेको छ समय 

ए जिन्दगीहरू !
सपना देखेर किनारमा नउभिनु
बढारेर लैजान सक्छ आँखिरी संभावनाहरू पनि
सुकेको काठको मुढो झै ठानेर तिमीलाई
ऊ त्यो
आफैतिर आइरहेको
दुर्गन्धित घृणाको छालले ।

थाहा छैन

स्थिर छु भन्दा गतिमा देख्छु 
गतिमा छु भन्दा स्थिर देख्छु 
थाहा छैन अचेल म आफूलाई 
भएको देख्छु कि नभएको देख्छु !

मुक्तक

तिम्रो आँखाको प्रहार ठिक छैन अचेल
तिमीलाई छोएर बहने बहार ठिक छैन अचेल 
रूपको पनि त एउटा सीमा हुन्छ नि प्रिय 
अति भयो त्यो अनुहार ठिक छैन अचेल ।

मुक्तक

 कति डाह हुँदो हो तिमीलाई मैले बाँचेको देखेर
यस्तो दु:खमा पनि म हमेसा हाँसेको देखेर
अरूको रात देखेर उज्यालो हुने तिम्रो अनुहार
अँध्यारो हुँदो हो छिमेकको भाले बासेको देखेर 

बिन्ति !

यो बिन्ति हो मेरो
खालि एउटा बिन्ति
र यो अरू कसैको निम्ति नभएर
केवल तपाईँको निम्ति !

महोदय,
लुट्नु होस्
जति लुट्नु छ लुट्नुहोस्
तर नानीहरूका निम्ति केही खेलौना
दुई चार चकलेटहरू
बाबाको ढाडसेक्ने रबर ब्याग
श्रीमतीको अधबैंसे जवानी उजिल्याउने
केही कस्मेटिक समानहरू
एउटा थोत्रो टिभी
पुरानो मोबाइल
यस्तै यस्तै लिएर
बर्षौपछि देश फर्किएको
हर्कबहादुरको झोला एयरपोर्ट मै नलुट्नुहोस्
देशमै देशको निम्ति केही गर्छु भनिरहेका
युवाहारूको उत्साह नलुट्नुहोस्
त्यसरी झुटा सपनाहरू बाँढेर बर्षौ बर्ष
जनताको भावना नलुट्नुहोस्
महासय,
लुट्नुहोस् यीं सबै पनि केही छैन
तर कृपया,
मेरो बिन्ति छ !
देश भनेको आमा हुन्
देशको ईज्यत कहिल्यै नलुट्नुहोस् |

खोस्नुहोस्-
तपाईँलाई सबैभन्दा मनपर्ने
त्यो कुर्सी खोस्नुहोस्
तर इमान्दार कर्मचारीको जागीर नखोस्नुहोस्
सच्चा सुरक्षाकार्मीको बर्दी नखोस्नुहोस्
मान्छेहरू स्वन्तन्त्र हिंड्न चाहन्छन् यो सडकमा
उनीहरुका खुट्टा नखोस्नुहोस्
मान्छेहरू निस्फिक्री बोल्न चाहन्छन् यो खुल्लामन्चमा
उनीहरूको आवाज नखोस्नुहोस्
बुढी आमाको हातको लौरो
बृद्द बाबाको आँखाको चस्मा
स्कूल गइरहेको बालकको पुस्तक
कविको कलम
कलाकारको कला
केही पनि नखोस्नुहोस्
महोदय,
यी सबै जेजे खोस्नु छ खोस्नुहोस्
तर कृपया,
मेरो बिन्ति छ!
खोस्ने बेलामा कम्तिमा एक पटक सोच्नुहोस्
सगरमाथाको उचाई
बुद्दको सच्चाई
र यो देशको स्वाभिमान |

खान त खानुहोस्
तर भोको बच्चाको दुध खोसेर नखानुहोस्
बिरामीको औषधि
युवाहरूको सपना
चेलीहरूको जवानी
केही पनि बेचेर नखानुहोस्
पटक्कै नखानुहोस् गरिबहरूको झुपडी लुटेर
महाशय,
त्यो पनि खानुहोस् केही छैन
तर कृपया,
मेरो बिन्ति छ !
देशै बेचेर भने कहिल्यै नखानुहोस् ।

शुभकामना!

अनेक घामपानी सहेर पनि आफू
हातमा शुभकामनाका विटाहरू बोकेर
समयको हरेक गौंडामा ढुकिरहेको 
ए उल्लु मान्छे !
भन्नुहोस् त
अब फेरि उहाँलाई अरू केको शुभकामना ?
उहाँले त आफ्नो सपना पुरा गर्नुभएको छ
नभए ऊ हेर्नुहोस् त
जहाँ पुग्नु थियो त्यही पुग्न पाएर
उहाँ त मख्ख पर्नुभएको छ
उहाँ त सिंहदरबारको सिंह हुनुभएको छ ।
शुभकामना त,
अझैसम्म अधुरा सपनाहरू बोकेर
अनिश्चित आगत कुरिरहेको
यो देशलाई चाहिएको छ
शुभकामना त
बर्षौदेखि सपनाहरू देखिरहेका
तर सँधै निराश निराश उभिएका
यो देशका मान्छेहरूलाई चाहिएको छ ।
शुभकामना,
सिद्धिन लागेको ग्याँसको सिलिण्डरलाई
भत्किन आटेको वा भत्किसकेको पुललाई
पालमुनिको परिवारलाई
भोकै बस्न नसकेर देशमा
चारोको खोजीमा एयरपोर्टबाट उड्न लागेको नौजवानलाई
हलो भाँचिएको किसानलाई
तुईनमा झुण्डिरहेका नानीहरूलाई
र साँझ बेलैमा घर आइनपुग्ने विजुलीबत्तिलाई
चाहिएको छ ।
खासमा शुभकामना,
स्कूल जान नपाएका बालकहरूलाई चाहिएको छ
सिटामोल विनै मरिरहेका विरामीहरूलाई चाहिएको छ
सिंचाई विना सुकिरहेका वालीहरूलाई चाहिएको छ
बाँध विना डुविरहेका बस्तीहरूलाई चाहिएको छ
शुभकामना त
फोहोर किनेर खानु परिरहेका ग्राहकहरूलाई
मानब बधशाला जस्ता अस्पतालहरूलाई
पार्टि कार्यालय जस्ता शैक्षिक संस्थाहरूलाई
खरायो हिंड्ने बाटो पनि नपुगेका हिमालहरूलाई
पहिरो गइरहेका पहाडहरूलाई
सीमानामा छिमेकीसँग युद्द लडिरहेका मधेशहरूलाई
चाहिएको छ ।
शुभकामना,
फाटेको कुर्कुचालाई चाहिएको छ
भारी बेक्दा बेक्दा
थेप्चिएको तालुलाई चाहिएको छ
कुप्रिएको ढाडलाई चाहिएको छ
खुलेर मुस्काउन नपाएका
कलेटी ओठहरूलाई चाहिएको छ
भविष्य हिंड्ने सडकमा
सँधै आगो आगो देख्नुपरेका आँखाहरूलाई चाहिएको छ ।
ए उल्लु मान्छे !
सँधै सत्तामात्र अँठ्याइरहने सिंहदरबारलाई होइन
सिंह दरबारको आफूलाई मनपर्दो सिंहलाई मात्र पनि होइन
तिम्रो शुभकामना त
जनतालाई चाहिएको छ
देशलाई चाहिएको छ
कहिल्यै झुक्न नमान्ने
यो देशको स्वाभिमानलाई चाहिएको छ ।

गल्ति नै गल्ति


हामी भेटिनु एक गल्ति थियो
हामी छुटिनु पनि गल्ति नै हुनेछ
र हामी नछुटिनुमा पनि गल्ति नै भइरहनेछ 
गल्ति नै गल्तिको यो गल्लिबाट
तिमीले मलाई
जता जान इसारा गरेपनि
अब त्यो गल्ति नै हुनेछ !

गल्ति बोकेर हिंडिएको छ
गल्ति टेकेर हिंडिएको छ
लड्दा गल्ति गरेरै लडिएको छ
उठ्न भनेर केही समाउँदा
झन् गल्ति समातिएको छ ।

हेर्दा गल्ति हेरिएको छ
सोच्दा गल्ति सोचिएको छ
बोल्दा गल्ति बोलिएको छ
आफू जहाँ पुगिएको छ
त्यहाँ चुपचाप गल्ति उभिएको छ
गल्ति नै गल्तिको यो गल्छ्यौडोबाट
तिमीले मलाई
जता जान इसारा गरेपनि
अब त्यो गल्ति नै हुनेछ !

गल्ति नै गल्तिको थुप्रोमाथिबाट
गल्तिको पहाड उभिएको छ पर्खाईमा
छेवैबाट बगेको छ अर्को गल्तिको भंगालो
जता गए पनि बाटो
गल्तिले यहि आइपुग्ने छ घुमेर ।

गल्ति नै गल्तिको यो गन्जागोलबाट
तिमीले मलाई
जता जान इसारा गरेपनि
अब त्यो गल्ति नै हुनेछ !

२२.गजल


यो गजल यो मनको म गाउन सक्दिन
अति छट्पट् छ मन समाउन सक्दिन

सुनौलो त्यो बदन आँसुमा भिज्यो रे
धेरै टाढा छ ज्यान म आउन सक्दिन

बग्यो जिन्दगी यो अनेकौ लहरमा
म आफ्नै पारामा बगाउन सक्दिन

सँधै रोई हिंडें, कराएँ बेस्सरी
के प्यार जिन्दगीमा म पाउन सक्दिन ?

समय भनौं कि, नियति भनौ कि
म दोष अरूलाई लगाउन सक्दिन 

२१.गजल


त्यो मुहार बलेको हेर्नु छ
यो रात ढलेको हेर्नु छ

मलाई हिंड्दैन भन्ने मान्छे
म सँग गलेको हेर्नु छ

बोल्दिन भन्ने मान्छे तिमी
तिम्रा ओठ चलेको हेर्नु छ

यसै छाड्दिन म भन्नेले
बदला नलेको हेर्नु छ

गाह्रो हुन्छ भन्थे सबैले
पत्थर पग्लेको हेर्नु छ ।।

अकास भएर

कसरी रेखाँकन गरूँ म तिम्रो प्रेम ? 
कहाँ कहाँ बाँधूँ बाँध ? 
कता कता लगाऊँ सिमाना ? 
मेरी प्रिय,
तिमी त अकास भएर मलाई छोप्दै छौ ।

एक हूल मुर्कुट्टाहरू !

हरेक सोचमा 
ढुसी परेको छ
कुना कुनामा दिमागको 
काई लागेको छ
सिंगो सभ्यता नै दुर्गन्धित हुनेगरी 
स्वास बाहिरिएको छ प्रत्येक आवाजमा
सँधै कुरूप दृष्यको खोजमा
तन्किएका छन् आँखाहरू
देशै निले पनि नअघाउने भुँडी लिएर
समयको गति नै रोकेर बीच सडकमा
बसेका छन् युगको ढाडमाथि
एक हुल बकासुरहरू
जो आफूलाई आधुनिक ठान्छन्
जो आफूलाई दुरदर्शी मान्छन्
युगौंदेखिको लेऊ जमेको छ तिनका पाइतलामा
तर पनि ऊनिहरू
फर्किएर ढाडतिर
जिस्किंदै मान्छेका आधारभूत सपनासँग
उग्राइ रहेछन् अग्रगमनको नारा !

मानौ, बाटो होइन अगाडिको
एक भड्खारो हो
तै पनि,
अविदितको यात्रामा झै तम्तयार छन्
अनौठा मान्छेका हूलहरू
लाग्छ- उठेर अर्धनिन्द्रामा
आफै चिहानघारी गइरहेछन्
एक हूल मुर्कुट्टाहरू !

मुक्तक


यो फूललाई पनि विर्षन्छु, जब तिम्रो मुस्कान आउँछ
सम्झनु मात्र पर्छ तिमीलाई हरेक कुराले सताउँछ
ढाँटेको हो अर्थात् साँचो हो,आऊ तिमीले आफै हेर
यहाँ जे हाल छ मेरो सबै यो सुन्सान् घरले बताउँछ ।

मुक्तक

मुस्किल छ जिन्दगी जिउन यहाँ 
रगत बेच्नुपर्छ पानी पिउन यहाँ 
जति जोडिन खोजे पनि टुक्रिनु पर्छ 
सबै भन्दा गाह्रो छ मन सिउन यहाँ ।

पात्र जस्तै..


मार्थाहरू प्रेमको पक्षमा जिद्दी गरिरहुन्
प्रशान्तहरू अड्डी कसिरहुन् अहम्मा
अस्तित्वको नाममा ओइलिएर झरिरहुन् सकम्बरीहरू
आकर्षणको बाटो बिराएर
पश्च्तापमा जलिरहुन् सुयोगबीरहरु……
र सारा बैंस रातमा गुमाओस् पारीजातले
आंखिर संसार भ्रमको खेल मैदान नै त हो
आंखिर संसार भ्रमको रंगमंच नै त हो

हामी टुसाएर आतंक हुन्छौं परम्परामा
परम्परा बिलाएर आतंक हुन्छ हामीमा
एउटा निरन्तर युद्ध जारी छ सदियौंदेखि
न जितेका छौं हामीले
र न जित्न पाएको छ परम्पराले
हाम्रो संधै गुनासो परम्परासंग
र परम्पराको संधै गुनासो हामीसंग
एउटा बित्थाको कोकोहोलो निरन्तर बगिरहेको छ
र हामी भ्रमका किनारहरु आधार मानेर
प्रबाहामा सामेल छौं

सबैले बुझेको
तर आफैले बुझ्न नसकेको
सबैले जीत ठानेको
तर आफूले निरन्तर हारेको
कतै मार्था ! कतै प्रशान्त !
कतै सकम्बरी ! कतै सुयोगबीर !
कतै पारिजात !
कुनै कीर्तिका खातिर पात्र भईदिनु
र सम्बेग जन्माई दिनु हरेक पाठकमा
वा नाचिदिनु कतै थिएटरमा
अर्थात रोई दिनु छिनभर बेस्सरी
हांसी दिनु , जोक्कर भैदिनु
रिसाई दिनु , कसैसंग नाबोलिदिनु
पछुताउनु , आफैसंग झर्किदिनु
यसो भैदिनु , उसो भैदिनु
र कसै गरे पनि कता कता नामिलिदिनु
अर्थात नमिले झै लागिदिनु
फेरी कहिले टक्क मिले झै होइदिनु
र मन फुरुंग भईदिनु

एउटा भ्रमको खेल मैदान नै त हो जिन्दगी
एउटा भ्रमको रंगमंच नै त हो जिन्दगी

आत्मियता

समयको दुरी 
या भूगोलको दुरी
कुनै पनि दुरी बहादुरी हुनेछैनन् 
जबसम्म निकट रहन्छ 
हाम्रो आत्मियता !

प्रश्न


हरेक मन्दिरको मूर्तिलाई
अचेल भ्रम हुँदो हो
खासमा ऊ,
मूर्ति मात्र हो कि ईश्वर पनि ?
प्रत्येक मन्दिरको पूजारीलाई
अचेल प्रश्न हुँदो हो
वास्तबमा ऊ,
पूजारी मात्र हो कि मान्छे पनि ?

गोपिनीहरूको तर्फबाट


अचेल कृष्णहरू मुरली बजाउँदैनन्
तर यो जान्दाजान्दै पनि
कृष्ण जस्ता लाग्ने
स-साना नानीहरूका हातमा
हामी एकएक वटा मुरली थमाइ रहेछौ ।

र त्यसपछि
आफ्नै अन्तर्मनमा सुनिरहेछौ
प्रेमको सुरिलो धून
अनुभूत गरिरहेछौ
मुरलीमाथि जिस्किरहेका कलिला औलाहरू !

यतिखेर -
यो तन्द्राबाट ब्युँतेर
लखेट्नु जस्तो भएको छ कृष्णलाई ।

धेरै कुरा बदलिए होलान्
उसो त पहिलेका जस्ता छैनन् कृष्ण पनि
तर युग-प्रतियुग उस्तै छौ
हामी पागल प्रेमीहरू !

समय जस्तो मान्छे

बरू समय समयमा नहिड्ला 

बरू समय समयमा आइ नपुग्ला
तर ऊ सँधै समयमा हिंड्छ र समयमै आइपुग्छ
ऊ आइपुग्दा छ बजेको हुन्छ
छ बज्दा ऊ आइपुग्को हुन्छ
यस्तो भैसक्यो
ऊ आइपुग्नु भनेको छ बज्नु हो
मानौ, ऊ एक घडी हो
घडीमा सेट भएको एक घण्टी हो ।

सँधै ऊ
मेरो घरको छेऊ भएर
समयमै आउँछ र समयमै जान्छ
समय बरू 
समयको गतिमा छ कि छैन ?
 संका गर्न सकिन्छ,
तर उस्लाई हेरिरहँदा लाग्छ -
ऊ नै एउटा यस्तो घडी हो
जो स्वयम् समय भएर
निरन्तर एकै गतिमा
 बगिरहेछ ! 

धेरै काम बाँकि छ

नयाँ स्थापना गर्नु मात्रै छैन

पुरानो भत्काउनु पनि छ
बढार्नु छ धेरै कुरा ।

निर्माणै नभइकन घर
भत्काउन खोज्नेहरू पनि छन्
छाउने वित्तिकै घर
सल्काउन खोज्नेहरू पनि छन्
काममा अबरोध कति छन् कति
बेलाबेला पल्लाघरको आउँछ र उल्क्याइ रहन्छ
सहपाठी ठेकेदारहरूलाई ।

घरको हरेक कुनामा
बनि सक्दा नसक्दा घर
माकुराहरू जाल थाप्ने तयारीमा छन्
भ्यागुत्ताहरू पेटीमै ट्वारट्वार गरिरहेछन्
अझै कत्ति धेरै काम बाँकि छ
राम्रोसँग मिलिसकेकै छैनन्
घर भित्रका कोठाहरू ! 

बस् कविता पो लेखेको

म थान्का थान कविता उत्पादन गर्न सक्ने 
त्यो यन्त्रवत कवि होइन, 
जहाँ तिम्रा बिचारको कच्चा पादार्थ 
मेरो कलम भएर कविता हुन्छ | 

मैले तिम्रो निम्ति कविता लेखेको हो र ? 
मैले मेरै निम्ति पनि कविता लेखेको हो र ?
मैले त 
बस् कविता पो लेखेको |

क्रान्ति भनेको के हो ?


कविताहरू पनि क्रान्तिमा सामेल भए
गीतहरू पनि क्रान्तिमा होमिए
नाटकहरू पनि क्रान्तिमा समर्पित भए
गजलहरू
कथाहरूले पनि क्रान्ति बोकेर हिंडे |

तर,
जितिसकेपछि युद्द
खुसीले/उन्मादले
मान्छेले क्रान्ति बिर्सियो
बिर्सियो घाइते भएको कविता
रोइरहेको गीत
तोडफोड भएको नाट्यशाला
कहिले बिर्सन नसकिने मृत्युका कथाहरू
त्यो पनि बिर्सियो |

मेरा र तेरा भए पत्रपत्रिकाहरू
प्रसंसा र गालीले भरिए लेख रचनाहरू
एउटा स्वतन्त्र कविको कविता
रुँदै रुँदै
पुरानै ठेगानामा फर्कियो |

कुनै दिन
क्रान्तिको ब्याख्या गरेर नथाक्ने
एउटा सोझो कलम
एकाएक वाक्यको अन्तिममा
बाङ्गिएर आफै प्रश्न चिन्हमा उभियो
क्रान्ति भनेको के हो ? (?)

‪‎बुझेनौ तिमीले‬

आगोबाट निकालें तिमीलाई 

भंगालोबाट बचाएँ
बोकेर हिंडे भड्खाराहरूमा
चौतारीमा आराम गर्न भने
नजाऊ भने काँडाघारीहरूमा
जुनको सितल ताप्न निकालें
जुनेली रातहरूमा
सिउरिदिएँ मगमग पारिजातका फुलहरू
तिम्रा सुन्दर केशहरूमा !

बुझेनौ तिमीले ,
अहँ,पटक्कै बुझेनौ मेरो प्रेम
सँधै मागिरह्यौ -
सुनको सिरबन्दी
हिराको हार
डायमण्डको औंठी ।

भोकै नबस्न भने
लुगा लगाऊ भने ठण्डीहरूमा
तिमीलाई हेरेर मुस्कुराउन खोजें
रमाएको देख्न खोजें तिमी
सँधै कस्तो छ सोधिरहें
थाक्यौ होला आराम गर भनिरहें ।

बुझेनौ तिमीले ,
अहँ, पटक्कै बुझेनौ मेरो प्रेम
म सुन्न चाहन्थें -
तिम्रो प्रेमको ढुक्ढुकी !
तिमीले सुनाउन खोजिरह्यौ मलाई
चुराको छिङ् छिङ्
पाउजुको छमछम !

पढ्न खोजिरहेछु

म जथाभावी कराइरहें 

आवाजलाई एकत्रित गर्नुपर्छ मैले
यो कहिल्यै सोचिन
र यो पनि सोचिन
कि मेरो आवाज व्यवस्थित हुनुपर्छ ।

त्यसै कराइरहें
जसरी लाटकोसेरो कराउँछ रातमा
जसरी भ्यागुत्ताहरू टर्टराउँछन् आहालमा
धेरै परबाट आएको
भीडको आवाज जस्तै
कसैले बुझेन मेरो आवाज ।

हरफमा त के
शब्दमा पनि बोल्न सकिरहेको छैन
बरू मुटु जस्ता अक्षरहरू टुक्र्याइ रहेछु
र पढ्न खोजिरहेछु जिन्दगीको बक्ररेखा ।

सपना हो ऊ

अर्थ नभएपछि बोल्नुको

ऊ आफै बोल्न छोडेको हो
तिमीले सोचे जस्तो ऊ
नि:शब्द हुँदै होइन,
अहँ,ऊ तिमीले नसुने जस्तो
चुपचाप छँदै छैन ।
.
हिंडेर कहि नपुगेपछि
ऊ बेलाबेला सोच्दै रोकिएको हो
तिमीले सोचेजस्तो ऊ
गतिहीन छँदै छैन,
अहँ, ऊ तिमीले देखे जस्तो
स्थिर हुँदै होइन ।
.
टाढा टाढा क्षितिज हेर्न थालेपछि
निन्द्रामा उक्लिन थालेपछि पहाड
चटक्कै बिर्सियो उस्ले
आफ्नै आँगनको तगारो
भुल्यो सारा बगैंचाका फूलहरू
.
देख्नै छोडेको होइन उस्ले
बरू देख्न थालेपछि धेरै परपर
बेला बेला देख्दैन उस्ले आफ्नै वरिपरि ।
.
जस्तो-उस्ले देखिरहेको छैन
तिमी तरबार बोकेर ऊतिर गइरहेको
लाठी बजार्न आटेको टाउकोमा
तिमीले घेरा हालेको या बन्दी बनाएको,
बाटोमा एम्बुस थापेको -
र भोकाएको उसको पेट
निको नभएका उस्का घाऊहरू
यो त झन् उस्ले देख्ने कुरै भएन ।

तिमीलाई सिर्फ बुझ्नु छ भने 'उस्ले देख्छ देख्दैन'
उस्ले हेरिरहेको क्षितिजमा वम पड्काइ देऊ
ऊ उक्लिरहेको पहाडमा पैह्रो लडाइ देऊ
तिमीलाई विस्वास छ भने आफ्नो बहादुरीमा
त्यहाँ उभिएर जिस्क्याऊ उसलाई
जहाँ पुग्न ऊ खोजिरहेको छ ।

तिमी जस्तो लाछी होइन ऊ
अहँ,बिलकुल होइन
तिमीले सोचे जस्तो कदापी छँदैछैन ।

ऊ कहिल्यै बलेर नसकिने
आगो बीचको एक उदेश्य हो
ऊ कहिल्यै बगेर नसकिने
आँसुबीचको एक आसा हो
जतिसुकै बर्ष या शताब्दी वितोस्
त्यहाँ पुग्नको निम्ति ऊ
युग प्रतियुग हिंडिरहने एक गति हो
चुपचाप सुनिए पनि
चुपचाप बस्नै नसक्ने
निरन्तर बजिरहने ऊ एक आवाज हो ।

सपना हो ऊ
ऊ जिन्दगी हो ।

तिमी अस्ताउनुसँगै


यो किनारामा
एक्लै छोडेर मलाई
चुपचाप तिमीलाई लिएर गयो समयले
र यीं जिन्दगीका छालहरू
पत्थर सोचेर मेरो मुटुलाई
निरन्तर ठोकिंदै गइरहेछन् |

सानो नदीमै आँतिने मान्छे म
आफूभित्र आज
सागर बोकेर उभिएको छु |

तिमी अस्ताउनुसँगै
उदायो ममा एउटा अन्धकार
निस्तब्ध छ यो आकाश
सुन्दिन म कुनै प्रेमको वार्तालाप
जुनसुकै कोठा पनि निर्जीव सुतिरहेछन् जस्तो
खाटको कुनै आवाजले
उक्लिने हिम्मत गरेको छैन झ्यालसम्म
बरू दलिनमा आत्महत्याको दृश्य कोरिरहेछ
मेरो यहीं एउटा कमजोर कविता जस्तै |

श्रीमतीको डाइलग‬

जब जब नारीका निम्ति भनेर
नयाँ बिधेयक बजारमा सुनिन्छ
बिरामी नै हुनुहुन्छ हजूर
बिरोध, खालि बिरोध गर्नुहुन्छ
मानौ,
अब चाँडै यो घरमा
पुरानो सत्ता ढल्दै छ |
.
पति महोदय,
तपाईंको सत्ता तापईँनै चलाउनुहोस्
अब हजार बर्ष राज गर्नुहोस तपाईं
तर कृपया,
राम्रोलाई राम्रो
र नराम्रोलाई नराम्रो भनिदिनुहोस्
मेरो पति,
कम्तिमा साँचोलाई साँचो भनिदिनोस् !
.
सबै मरेर आफू भित्र
पति मात्र जीवित उभिनुहुन्छ मेरो सामु
सिर्फ पति !
र भन्नुहुन्छ-
"मलाई पोथी बासेको मन पर्दैन |"
.
आफूभित्र,
मरेको छोरोलाई ब्युँताउनुहोस् आफूबाट
र आमाको काखमा मुन्टो जोतेर रुनुहोस्
ब्युँताउनुहोस् भाइलाई आफूबाट
र दिदीको अगाडि घुँडा टेकेर माफी माग्नुहोस्
यो छोरीले अपसोस मान्ली कुनैदिन बाबु सम्झेर
थुक्ली पुजा गर्ने तस्बीरमा
कि यसलाई न्याए दिनुहोस कि त मारिदिनुहोस् !
.
मेरो प्यारो पति !
खै ! किन किन,
अझै पनि मलाई विश्वासै लाग्दैन
अहँ पटक्कै त्यस्तो लाग्दै लाग्दैन
कि मेरो यो कलिलो छोरो
बाबुको बिचारको उताराधिकारी बन्नकै निम्ति
हतार हतार हुर्किरहेको छ !

Friday, August 26, 2016

४. गीत

छोडेर गयौ के भन्नु मैले छोडेर जानेलाई
लाज नै विना लाजको घुम्टो ओढेर जानेलाई

कसैको भर जीवनमा फेरि परूँ कि नपरूँ ?
सबैले गर्छन् मायाका कुरा गरूँ कि नगरू ? 
एकैसाथ हुन पाइदैन भन्यौ भाविले नलेखे
आँसुको मुल्य नहुँदो रैछ देख्नेले नदेखे

नसम्झुँ भन्छु संझेकै हुन्छु संझना पापी छ
छ न त अरू मसँग केछ यही याद बाँकी छ
भेटेर मलाई कुनै दिन तिम्ले भुल भयो नभन्नु
पराई मान्छे पराई हुनु मायालु नबन्नु