Monday, January 9, 2017

सत्यको पक्षमा


तिमीले सत्यको पक्षमा लड्यौ र जित्यौ युद्द
तर मैले
यो सत्य भुलेर 
खै कुन दिनदेखि हो कुन्नि !
थालेछु शक्तिको पूजा गर्न
र हार्दै आएछु
युग युगसम्म न्यायको युद्द ।
सत्यलाई कुल्चेर शक्तिलाई पछ्याएछु
झुण्डिएछु शक्तिको पुच्छरमा
जे जे भन्छ शक्तिले त्यहि त्यहि गरेछु
शक्ति नै सत्य हो भन्ने गहिरो भ्रममा परेछु
हो दुर्गा माता !
यहिं अन्धकारमा
यही भ्रमको कालो ओडारमा
युग-प्रतियुग म नि:सन्देह मरेछु
माफ पाऊँ माता ! माफ पाऊँ
मैले अक्षम्य भूल गरेछु ।
थाहै भएन,
सबै भन्दा भयंकर राक्षस त
सत्य विनाको शक्ति पो रहेछ
 तर
यो त इतिहासमा
मालिक पनि भयो
नेता पनि भयो
सरकार पनि भयो
 दाता पनि भयो
विधाता पनि भयो ।
यही राक्षस
परिवर्तनको नाममा
पटक पटक आन्दोलन भएर आयो
भत्कायो घरका झ्याल ढोकाहरू
उडायो छाप्राका छानोहरू
स्कूल गइरहेका नानीहरूलाई त्यसले
बाटैमा निमोठेर मार्यो
प्रध्यापक जस्तो समयको छातीमा गोली ठोक्यो
आउँदा सपना बाँड्दै आयो त्यो
र बुद्दको छाती जस्तो गाऊँमा बम पड्कायो
लुट्यो सारा बस्तीका सपनाहरू ...
शक्तिको विरूद्द
अर्को शक्ति जन्मियो
एउटा शक्तिलाई परास्त गर्यो अर्को शक्तिले
तर सत्यको खोजी न मैले गरें, न कसैले गर्यो
सत्यको पक्षमा न म लडें, न कोही लड्यो
न सत्यलाई जिताइयो, न सत्यले जित्यो
माता !
हरेक युद्द जितेको ठानेर उभिएको म
नतमस्तक छु तिम्रो सामु हारेर
जितें भनेको एउटा युद्द नसकिंदै
अर्को युद्दको निम्ति उभिएको छु
गल्ति गरें माता ! मैले गल्ति गरें
शक्तिलाई नै सत्यठानेर
मैले अपराध गरें ।
अरू त अरू
आज म
तिम्रो शक्तिको पूजा गर्न पनि डराएको छु
क्षमा देऊ माता !
म सत्यको,
खालि सत्यको पूजा गर्न भनेर आएको छु ।

No comments:

Post a Comment